कम्युनिष्ट किल्ला तोडेकोमा मकवानपुरमा कांग्रेसलाई सम्मान



न्युज अफ नेपाल, हेटौंडा ।

प्रदेश–३ अन्तर्गत् भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) को प्रदेशसभा सदस्य निर्वाचित नेपाली कांग्रेसका कृष्णलाल भंडेललाई नेपाली कांग्रेस मकवानपुरले सम्मान गरेको छ । उहाँलाई सपथपछि कांग्रेसले सम्मान गरेको हो ।

भंडेललाई आइतबार नेपाली कांग्रेस मकवानपुरले स्वागत तथा सम्मान गरेको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् प्रदेश–३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा भंडेललाई स्वागत तथा सम्मान गरिएको हो । कांग्रेस मकवानपुरका जिल्लास्तरीय नेता तथा कार्यकर्ताले भंडेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

२ हजार २ सय ४३ मतान्तरसहित विजयी भंडेलले १३ हजार ४ सय ४९ ल्याउँदा नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत प्राप्त गर्नुभएको थियो ।

त्यहाँ प्रभावशाली मानिएको नेमकिपाका निरज लवजुले ५ हजार ८ सय २९ मत प्राप्त गर्नुभएको थियो । एमाले–माओवादी एक भए पनि नेकपाले आफ्नो वर्चस्व जोगाउन सकेन ।

दुई कम्युनिष्ट पार्टी (नेकपा र नेमकिपा) को राम्रो पकड भएको क्षेत्रमा कांग्रेसले पहिलो पटक जित हासिल गरेको हो । तत्कालीन चाँगु गाविस अध्यक्षदेखि संसदीय निर्वाचन क्षेत्रसम्म पनि पटकपटक पराजित हुँदै आउनुभएका भंडेलले यसपटक कम्युनिष्ट किल्ला तोड्नुभएको हो ।

भक्तपुर–१ संसदीय निर्वाचन क्षेत्र दशकौंदेखि कम्युनिष्ट धारमै उभिएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को कब्जामा छ । भक्तपुर १ (क) बाट निर्वाचित हरिशरण लामिछानेको निधन भएकोले करिब डेढ वर्षदेखि उक्त पद रिक्त थियो ।

नवनिर्वाचित प्रदेशसभा सदस्य भंडेलले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ । भंडेललाई प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले आइतबार सपथग्रहण गराउनुभएको हो ।

प्रदेशसभा सचिवालय हेटौंडामा भएको कार्यक्रममा उपसभामुख राधिका तामाङ, प्रमुख प्रतिपक्षी दलका नेता बानियाँ, नेकपा सचेतक बुद्धिमान माझी, कांग्रेस सचेतक राधा घले, प्रदेशसभा प्रमुख सचिव रामशरण घिमिरेलगायतको आतिथ्यता थियो । सांसद् भंडेललाई प्रमुख सचिव घिमिरेले प्रदेशसभाको लोगो प्रदान गर्नुभएको थियो ।

नवनिर्वाचित प्रदेशसभा सदस्य भंडेलले विकासको काममा तीनै तहसँग समन्वय गरी काम गर्ने बताउनुभयो । उहाँले आफू यसअघि पनि जनताकै काममा खटिएको बताउँदै प्रदेशसभा सदस्यका रुपमा आफ्नो कार्यकाल पनि जनताकै हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रदेशसभामा सत्तारुढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, नेपाल मजदुर किसान पार्टीका २, साझा विवेकशील पार्टीका ३, राप्रपा संयुक्त पार्टीका १, राप्रपाका १ र १ स्वतन्त्र सांसद् गरी १ सय १० जनाको प्रतिनिधित्व रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्