बुझ्नैपर्ने कुरो



देवघाट, हिन्दूहरुको महत्वर्पूण धार्मिकस्थल। बंैस र पैसा हुँदा धेरैले चिन्दैनन्। अल्लारे उमेरमा कसैले बताए पनि, सुनाए पनि एक कानले सुनेर अर्कोले उडाउँछन्।

तर उमेर ढल्कदै गएकाहरु आर्यघाट पुग्नुभन्दा देवघाट पुग्न चाहन्छन्, स्वर्ग जाने बाटो खोल्न चाहन्छन्।

नास्तिक भनिएका नेकपाका अध्यक्ष प्रचण्ड पनि अहिले देवघाटबारे पुरै अपडेट भएको सुन्दा धरहरा मात्रै होइन आम पाठकवृन्दलाई अचम्मै लाग्या छ।

‘देवघाट पुगेर आराम गर्नुपर्ने उमेरकालाई उम्मेदवार उठाएर कांग्रेसले गल्ती गर्यो’ बुधबार पोखरा पुग्या कम्रेडले यस्तै बोले। भनेसी, उनी देवघाट बारे कति जानकार छन् भन्ने कुरो धेरै बखान गरिरहनुपर्दैन।

‘देवघाट हैन कम्रेड, हाम्रो संसद्मै हुन्छ, देवघाट जानुपरेसँगै जाउँला’–आफू माथिको कटाक्ष पश्चात कास्कीका कांग्रेस उम्मेदवार पौडेलले प्रचण्डमाथि यस्तै शब्दवाण प्रहार गरे।

धरहराले प्रष्ट बुझ्या छ, राजनीतिमा यस्ता अनेक ब्यङ्ग्यवाँण र वाकयुद्ध चलिरहन्छ। वाकयुद्ध चलेन भने राजनीतिको ओझ रहन्न, नुनबिनाको सब्जी झैं हुन्छ।

तर नेताज्यूहरु प्रष्ट हुनुपर्ने के छ भने वाकयुद्धले मात्रै मुलुक बन्दैन। वाकयुद्धमा रमाउने नेताका यस्तै चालले जनता वाक्कदिक्क भा’छन्।

जनयुद्धले त नबन्या देश वाकयुद्धले बन्थ्यो भने नेपालले शान्ति प्रकृया लगत्तै आर्थिक छलाङ मार्नुपर्ने हैन र भन्या ? पौडेल र प्रचण्ड दुवैलाई चेतना भया।

प्रतिक्रिया दिनुहोस्