संगीतकर्मीलाई सम्मान गर्दै एल्बम सार्वजनिक



निजी क्षेत्रमा स्थापित नेपालकै पहिलो म्युजिक कम्पनी म्युजिक नेपालको ३६औं वार्षिकोत्सव सम्पन्न भएको छ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा हालै दरबारमार्गस्थित होटल याक एन्ड यतिको सभाहलमा सम्पन्न समारोहमा नेपाली संगीत क्षेत्रका ४ सर्जकलाई नगदसहित म्युजिक नेपाल सम्मान र एकजना कर्मचारीलाई दीर्घसेवा सम्मानबाट सम्मानित गरिएको थियो।

समारोहमा गीतकारद्वय रत्नशमशेर थापा र किरण खरेल तथा संगीतकारद्वय दीपक जंगम र शम्भूजित बासकोटालाई जनही ५०/५० हजार र ट्रफिद्वारा सम्मान गरिएको थियो।

त्यसैगरी ३५ वर्षदेखि म्युजिक नेपालमा सेवारत कर्मचारी कृष्ण खनाललाई दीर्घसेवा सम्मानद्वारा कदर गरिएको थियो।

समारोहमा पूर्वअर्थमन्त्री एवं गीतकार एसपी कोइरालाको एकल शब्द रचना र संगीतकार आलोकश्रीको एकल संगीत रहेको गीति अडियो एल्बम समय लोकार्पण गरिएको छ।

एल्बममा एक बुँद पानी, वैंशालु व्यथा, म तिम्रो रोजाइको, भैगो मलाई, छिनको भेट, अरूले मेरो, घैया धान, न त कुनै, अन्तै हेरेजस्तो, काँधमा खकन, जिन्दगीलाई जिन्दगी, मायाको मामिला र नेपाली भई गरी १३ गीत संगृहित छन्।

यी गीत प्रमोद खरेल, रामकृष्ण ढकाल, राज सिग्देल, अन्जु पन्त, प्रेमध्वज प्रधान, दीपक लिम्बू, विवेक श्रेष्ठ, जिना रसाईली, यम बराल, प्रल्हाद तिमल्सिना, नरहरि प्रेमी, कृष्ण काफ्ले, सिर्जु अधिकारी र रुपक डोटेलले गाएका छन्।

समारो म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्माले म्युजिक नेपालको स्थापनापछि नै नेपालमा संगीतको व्यवसायले गति लिएको बताए।

प्रतिक्रिया दिनुहोस्