नेपाल र अमेरिकामा टुसाएको गगन



नेपाल र अमेरिकाबाट एकैदिन ‘टुसाएको गगन’को विमोचन गरिएको छ।हालै नेपाल र अमेरिकामा एकैसाथ एकै समय आविष्कार भारतीकृत हाइकू (सेन्र्यु संग्र्रह) ‘टुसाएको गगन’को लोकार्पण भएको हो।

शब्दार्थ प्रकाशनबाट प्रकाशित यस पुस्तकमा ५ सय २५ हाइकू एवं सेन्र्यु रहेका छन्। यस संग्रहमा विष्णुबहादुर सिंह, कृष्ण बजगाईं र दिनार रनादीको भूमिका रहेको छ।

अमेरिकी डायस्पोरामा रहेर नेपाली मन हाइकूको मध्यमबाट पोखिएको यस पुस्तकलाई अमेरिकाको म्याडिसन शहरमा उपन्यासकार नीलम कार्की निहारिका, कवि दिनार ‘रनादी’, अप्सरा गिरी भारती, आभा भारती एवं नेपाली अमेरिकन मैत्री संघका अध्यक्ष अबिमन पसछेंबाट विमोचन भएको थियो।

यस्तै काठमाडौंमा त्यही दिन वरिष्ठ साहित्यकार ठाकुर शर्माको सभापतित्वमा लेखका हजुरआमा चिरन भारती, वरिष्ठ कवि कणाद महर्षि, महाकाव्यकारद्वय बाजुराम पौडेल एवं बुनू लामिछाने, कवि एवं समीक्षक डा. लेख निरौला, हाइकूकार कवि विष्णुबहादुर सिंह तथा वडाध्यक्ष शुद्धकुमार डंगोलले विमोचन गर्नुभएको थियो।

पुस्तकका भूमिकाकार विष्णुबहादुर सिंहले टुसाएको गगन सुन्दर चेतना, प्राकृतिक बिम्ब प्रचुर प्रयोग भएको अमेरिका बसेर नेपाली हाइकूको क्षेत्रमा गहकिलो योगदान रहेको बताउनुभएको थियो।

त्यस्तै डा. लेख निरौलाले समीक्षात्मक मन्तव्य दिँदै सूत्रात्मक, मन्त्रजस्ता भान हुने बिम्बपूर्ण रसिला हाइकू पुस्तकमा रहेका र ती हाइकूहरूले देशको माया, विकृति, संस्कृति, समाजको यथावत् चित्रण प्राकृतिक बिम्ब–प्रतीकका मध्यमबाट पस्केको बताउनुभएको थियो।

सभापति ठाकुर शर्माले टुसाएको गगनको शाश्वत पक्ष रहेको र दीर्घकालीन हाइकूहरू कवितात्मक, सूत्रात्मक, सान्दर्भिक र सुन्दरशैलीको रहेको औंल्याउनुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्