शिक्षिका काफ्लेको प्रेम सरोवर



साहित्यकार दुर्गा काफ्लको ‘प्रेम सरोवर’ नामक दोस्रो उपन्यास संग्रह सार्वजनिक भएको छ। बागबजारमा आयोजित एक कार्यक्रममा साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ माया ठकुरीले प्रेम सरोवरको सार्वजनिक गरेकी हुन्।

सहयात्री दर्पण नेपालले प्रकाशनमा ल्याएको उक्त पुस्तक विमोचन समारोहमा साहित्यकार तथा प्राज्ञ ठकुरीले साहित्यकार दुर्गा काफ्लेद्वारा लिखित उपन्यास समाज र वस्तुस्थिति झल्काउन मदत पुग्ने भएको बताइन्।

ठकुरीले प्रेम भनेको नियम कानुनभन्दा ठूलो बन्धन हो यो जातजाति, भाषा, संस्कृति, भूगोल कुनै पनि विषयले रोक्न र छेक्न नसक्ने अटुट र दीर्घजीवी वस्तु हो भनिन्।

कार्यक्रममा साहित्यकार तथा सहयात्री दर्पण नेपालका अध्यक्ष तथा प्रेम सरोवरका सम्पादक गोविन्द कँडेल ‘आँशु’ले सहयात्री दर्पणमार्फत दर्जनौ साहित्यिक पुस्तकहरू प्रकाशनमा ल्याउन सफल भएको बताए। उनले साहित्यलाई सबैले सम्मान गर्नुपर्ने भन्दै नेपाली साहित्यको संरक्षणमा सरकार लाग्नुपर्ने बताए।

यस्तै साहित्यकार कृष्ण धरावासीले नेपालमा उपन्यास पढ्ने रुची घट्दै जानुको कारण औंल्याउँदै रचनाका विषयवस्तु दोहोरिन नहुने बताए। उपन्यास लेख्नु सजिलो विषय नभई गहन अध्ययनको विषय हो भन्ने कुरामा ध्यान पुग्नुपर्नेमा उनको जोड थियो।

प्रेम सरोवर उपन्यासकी लेखिका दुर्गा काफ्लेले आफु पेसाले शिक्षिका भए पनि साहित्यमा सानैदेखि रुचि भएका कारण उपन्यास सृजनामा सफल भएको बताइन्। उनले हरेक व्यक्तिको नामसँगै जोडिने पहिचान छोरी, बुहारी, आमा, श्रीमती भएर साहित्य सिर्जना गर्न गाह्रो हुन्छ भनेर पछि हट्न नहुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्