दुर्गाप्रसाद शर्मा,पर्वत ।
भारतले आफ्नो नयाँराजनीतिक नक्सा सार्वजनिक गर्दा नेपाली भू–भाग लिपुलेक, कालापानी आफ्नो भू–भागमा राखेपछि त्यसको सर्बत्र विरोध भइरहेको छ। हरेक नेपाली भारतीय कदमको विरुद्धमा आन्दोलित छन्। देशलाई कालापानी लिपुलेक दुःखेको समयमा जनगायक जीवन शर्मालाई छोरा गम्भीर बिरामी पर्दा झनै पीडाकै बेला झन् पीडा थपिएको छ।
सधंै जनता र देशको पक्षमा गीत गाउँदै हिँडेका उनै जनगायक शर्माले पर्वतको कुस्मामा सम्पन्न जीवन शर्मा एकल साँझमा कालापानीको चोट परिवारको पीडाभन्दा कयांै गुणा माथि रहेको भन्दै गीत संगीतको माध्यमले राष्ट्रियताको भावना जगाइका हुन्।
लायन्स क्लब अफ शिवालय कुस्माले आयोजना गरेको एकल साँझको जीवनले शुरूआतमा नै राष्ट्रियताको भावना जगाउँदै मधेसी पहाडी, हिमालका हिमाली, हामी सबै नेपाली बोलको गीतबाट एकल साँझको शुरूआत गरे। सादा जीवन शैलीका गायक शर्माको आधा भन्दाबढि उमेर राजनैतिक परिर्वतनका खातिर गीत गाउँदैमा बितेको छ।
६० वर्षे इतिहासमा २ हजारको हाराहारीमा गीत गाएका शर्माले झन्डै ३ दशक अगाडि गाएको एउटा गीत नेपाली साँंगितीक दुनियाँमा अजम्बरी गीत बनेर नेपालीको मनमा बसीरहेको छ। पर्वत जिल्लाको कार्किनेटाको उकालो चढदै गर्दा शर्माले रचना गरेको सिमलु छायाँमा बसी बोलको गीत नेपालीको मनमा क्रान्तिकारी ज्वारभाटा बनेर बसेको छ।
कार्किनेटाको उकालो चढ्दै गर्दा एक वृद्धले भारी बोक्दै गरेको देखेपछि आफूले उक्त गीत रचना गरेको बताउने शर्माले गाएको उक्त गीतमा कुस्माबजारमा पनि वृद्धादेखि युवासम्म नाचे। आठ वर्षे भरीया बालकको कथा समेटेर लेखेको झरनाको चिसो पानी बोलको गीतमा उसैगरी बालबालिका खुलेरै नाचे।
कार्यक्रममा उनले चाहिँदैन मलाईं कालो धन, आकाशमा बादलु छैन, फोकल्यान्डको टापुबाट, आँधी रातमा हुरी चल्दा, परदेशी तिमी फर्की आउलगायतका गीत गाएका थिए। लायन्स क्लबले जीवनमै पहिलो पटक एकल साँझ आयोजना गरेको जनाउँदै उनले एउटा मादल बादकको साथ लिएर आफैं हार्मोनियमको बजाएर गीत गाए।
एकल सांगितिक साँझका लागि दर्जनौ वाद्यवादकका साथ मञ्चमा आउने परम्परा भए पनि आफ्नो जन्मस्थानका एक जना मादल बाजकको साथमा उनले भरपुर मनरोरञ्जन मात्रै होइन, देश र राष्ट्रिताको लागि जुरुक्कै उठाए। देश दुखेको बेला जनगायक शर्माको एकल साँझ गरेर राष्ट्रियतालाई बलियो बनाउन सहयोग पुगेको आयोजक लायन्स क्लब अफ शिवालयका अध्यक्ष डिल्लीराम शर्माले बताए।











प्रतिक्रिया