अफ्रिकी महोत्सवमा अनन्त यात्रा पेन्सिल र मकै विवाह उत्कृष्ट



आठौं नेपाल अफ्रिका फिल्म महोत्सव तीन उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै सोमबार सम्पन्न भएको छ। महोत्सवअन्तर्गत सर्ट फिल्म विधामा सुनील पाण्डे निर्देशित अनन्त यात्रा र आशिष भण्डारी निर्देशित पेन्सिल पुरस्कृत भएका छन् भने लघु वृत्तचित्र विधामा भीमलाल श्रेष्ठ निर्देशित मकै विवाह पुरस्कृत भएको छ।

यी तीनै फिल्मलाई महोत्सवमा सहभागीमध्ये उत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरिएको हो। पुरस्कृत फिल्मका निर्देशकहरूलाई जनही ५–५ रुपियाँसहित आदिप प्रतिभा चलचित्र पुरस्कार–२०१९ बाट पुरस्कृत गरिएको छ।

पुरस्कृत सर्ट फिल्ममध्ये आशिषको फिल्मले बालबालिकालाई जति धेरै यातना तथा दुःख दियो, त्यत्तिकै झगडालु र हिँस्रक हुँदै जान्छन् भन्ने सन्देश दिएको थियो भने सुनीलको फिल्म अनन्त यात्रामा मृत्यपछि स्वर्ग जाने क्रममा वैतर्नी नदी तर्न सजिलो होस् भनेर गाई वैर्तनी गरी गाई दान दिने प्रथामा केन्द्रित थियो।

त्यस्तै पुरस्कृत लघु वृत्तचित्र मकै विवाहमा गोरखाको धर्चे गाउँपालिकाको लाप्राकमा मकै बाली लगाउनुअघि पूजाआजासहित मकैको विवाह गर्ने प्रचलनलाई उठाइएको थियो।

महोत्सवमा अफ्रिकाको नाइजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी, नर्वे, जर्मनी, बेलायत र नेपालसहित १२ देशका २५ फिल्म सहभागी थिए।

महोत्सवमा बोल्दै अल्जेरिया फ्रान्सका फिल्म निर्देशक तथा फिल्म फेस्टिबल आयोजक फरिद असदले महोत्सव निकै रमाइलो भएको बताए। उनले आफूले आयोजना गर्ने महोत्सवका लागि नेपाली फिल्म पठाउन नेपाली फिल्म निर्देशकहरूसँग आग्रह गरे।

रुवान्डाका फिल्म फेस्टिबल निर्देशक तथा फिल्म निर्देशक हाकिजमाना पाइर्रीले पहिलोपटक नेपाल आएर महोत्सवमा सहभागी हुन पाउँदा नेपाल र नेपाली फिल्मलाई बुझ्ने अवसर मिलेको बताए। महोत्सवमा नेपाली फिल्म अब सहभागी गराउने उनले बताए।

यस्तै चिनियाँ फिल्म निर्देशक तथा अफ्रिकी विज्ञ डा. योङले आफूले सोचेको भन्दा नेपाल निकै रमाइलो पाएको बताए। महोत्सवको आयोजना कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन (सीजेएमसी) ले गरेको थियो।

महोत्सव तथा सीजेएमसीकी अध्यक्ष एवं डा. मञ्जु मिश्रले महोत्सव समापन समारोहमा बोल्दै नेपालीलाई अफ्रिकासँग र अफ्रिकालाई नेपालसँग फिल्मको माध्यमबाट जोड्न आठ वर्षदेखि महोत्सव आयोजना गर्दै आएको बताइन्।

महोत्सवको समापानका दिन सोमबार नेपालबाट महेश दाहालको रिभर्स, महेश्वर सम्बाहाम्फेको नाम्लो, आशिष भण्डारीको पेन्सिल र गणेशजंग रावलको भोक प्रदर्शन गरिएको थियो।

त्यस्तै नर्वे र यूकेको थ्यांक्यु फर द रेन, इजिप्टको तुतन कामुन, जर्मनीको अफ्रिकी फिल्म प्रोमिस ल्यान्ड र नेपाल पर्यटन बोर्डको नेपाल भ्रमण वर्ष–२०२० सम्बन्धी लघु फिल्म नेपाल मोन्टाज प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्