सहकारी पीडितलाई तिहारमा पनि पीडा



बाँके । सहकारी वित्तीय विकास संस्थाका पीडितहरूले रकम अभावमा पनि ठूला पर्वहरू मनाउनुपरेको छ । गत जेठमा सहकारी समस्यामा आएपछि बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन सकेका छैनन् । ईद, बकरईद, दशैँ र तिहारजस्ता पर्वका बेला आफ्नै रकम फिर्ता लिन उनीहरू सडकमै उत्रदै आएका छन् ।

आवश्यकता परेका बेला बचतकर्ताले राखेको रकम फिर्ता पाउन नसकेपछि उनीहरूमा तनाव र आक्रोश बढेकाले रकम फिर्ताका लागि पटक–पटक आन्दोलन गरे पनि अझै रकम कहिले फिर्ता हुन्छ भन्ने टुङ्गो छैन । “बिरामी भएर थलिँदासमेत सहकारीमा राखेको पैसा बचतकर्ताले फिर्ता पाउन सकेनन्”, रकम फिर्ताका लागि पहल गर्न गठित सङ्घर्ष समितिका अध्यक्ष विजय गुप्ता भन्नुहुन्छ ।

नेपालगञ्ज–१७ परसपुरका अकबाल बेहना रु आठ लाखभन्दा बढी रकम सहकारीमा फसेको र पर्वका बेला पनि पैसा नपाएको गुनासो गर्नुहुन्छ । रु १० लाख सहकारीमा बचत गर्नुभएकामा प्रेमलाल लोहार अप्ठ्यारो अवस्थामा पनि पैसा पाउन नसकेको सुनाउनुहुन्छ ।

आफ्नो रकमका लागि काम छाडेर आन्दोलनमा गर्नु परिरहेको पीडितहरू बताउँछन् । बिर्ताका बिर्खु प्रसादले पनि अप्ठ्यारो पर्दा काम लाग्छ भनेर राखेको रु छ लाख बताउनुहुन्छ ।

सहकारी समस्यामा आए पनि कर्मचारीबाट असुल गरी सहकारी सञ्चालनमा ल्याउने, समस्याग्रस्त घोषणा गर्नेलगायतको प्रयास भए पनि सफल हुन सकेन । धितो राखेर ऋण लिएकाहरू कहाँ ऋण तिरेर आफ्नो बन्धक रहेको सम्पत्ति फिर्ता लिने हो भन्ने अन्योलमा छन् । प्रहरीले अनुसन्धानपछि ४१ जना विरुद्ध अदालतमा दायर गरेकामा उनीहरूको बयान सकिएपछि थुनछेक बहस शुरु भइसकेको छ । तिहार बिदाका कारण रोकिएको बहस अदालत खुलेपछि शुरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्