मुख्यमन्त्री पोखरेलद्वारा शुभकामना



बुटवल। प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सद्भाव, भातृत्व र मेलमिलाप बढाउँदै एकताको सूत्रमा बाँधेर समाजलाई गतिशील बनाउनु नेपालीहरुका हरेक चाडपर्वका विशेषता रहेको बताउनुभएको छ ।

तिहारका अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देशमा नेपालीका अन्य पर्वहरुले जस्तै यस पर्वले पनि पारिवारिक मिलन र सामाजिक सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले तिहारको मौलिकता जोगाउँदै अघि बढ्न सके यसको सांस्कृतिक महत्व उजागर हुने उल्लेख गर्नुभयो ।

परिवारिक मिलन र सामाजिक सद्भाव बढाउने पर्वहरु अहिले बोझिला र विकृत हुँदै जानु नेपाली समाजका लागि चिन्ताको विषय बनेको छ भन्दै मुख्यमन्त्री पोखरेलले तडकभडक नगरी मौलिक ढङ्गले सामाजिक मूल्य र मान्यतालाई जोगाउँदै चाडपर्व मनाउन ध्यान दिनुपर्नेमा पनि जोड दिनुभयो ।

जुवातास खेल्ने र पटका पड्काउने क्रियाकलापलाई निरुत्साहित गर्न राज्यले चाल्ने कदममा सबैले सहयोग गर्न र सभ्य र सुसंस्कृत समाज निर्माणका लागि एकताबद्ध भई अघि बढ्न पनि आह्वान गर्दै उहाँले विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा सङ्कल्पित रहेको बताउनुभयो ।उहाँले प्रदेश सरकारले अघि सारेको समृद्ध प्रदेश, खुशी जनताको लक्ष्यलाई साकार पार्न सबै एकताबद्ध भई अघि बढ्नुपर्ने पनि आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्