महाकविको सम्झना



नुवाकोट। महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीको अवसर पारेर उहाँले नेपाली साहित्यमा पु¥याउनु भएको योगदानमाथि यहाँको बेलकोटगढी नगरपालिका–५ दुईपिपल डबलीमा चर्चा गरिएको छ । महाकवि देवकोटाले ‘कुञ्जिनी’ खण्डकाव्य र ‘पहाडी जीवन’ निबन्ध यही क्षेत्रमा लेखेकाले त्यसैको सम्झनामा यहाँ एक दशकदेखि देवकोटा जयन्ती मनाइँदै आएको छ ।

देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठान र महाकवि देवकोटा साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार भएको ‘देवकोटाको वैचारिक दृष्टिकोण’ विषयक विचारगोष्ठीमा सहभागीहरुले देवकोटाले लेखेको/सोचेको नेपाल अझै निर्माण हुन नसकेको बताउनुभयो । प्रगतिशील लेखक सङ्घका पूर्वअध्यक्ष निनु चापागाईंले देवकोटाको सिर्जनामा देखिएको वैचारिक विकासको बारेमा जानकारी दिनुभएको थियो । उहाँले देवकोटालाई कुनै एक रचनाको आधारमा मात्र चिन्न नहुने बताउनुभयो ।

कार्यक्रममा प्रा रमेश भट्टराईले देवकोटाको राजनीतिक यात्राको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले देवकोटाको साहित्य र राजनीतिक यात्राले चाहेको परिवर्तन अहिले देखिए पनि उहाँको दृष्टिकोणले अझै सार्थकता पाउन नसकेको बताउनुभयो ।

नुवाकोटको झिल्टुङलाई चिनाउन ‘कुञ्जिनी’ र ‘पहाडी जीवन’ले विशेष योगदान पु¥याएको भन्दै देवकोटाले ती कृति लेख्न बसेको घरलाई भूकम्पले क्षति पु¥याएकाले त्यस घरको निर्माणमा नगरपालिकाको ध्यानाकर्षण भएको बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गानाले बताउनुभयो ।

उपप्रमुख ढुङ्गानाले देवकोटालाई अमर राख्न कोल्पुटारदेखि उहाँ बस्नुभएको घरसम्म देवकोटा मार्ग भनेर नामकरण गरिएको जानकारी दिनुभयो । कार्यक्रममा प्रलेसका पूर्वअध्यक्ष मातृका पोखेरल, साहित्यकार अभय श्रेष्ठलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

सो अवसरमा बाबा बस्नेत, राजकुमार पुत्ला, प्रमिला परी, गायत्री भट्टराई, भगवती लामा, अग्निराज पौडेललगायतले सिर्जना वाचन गर्नुभएको थियो । कार्यक्रममा बेलकोटगढी नगरपालिका–६ देउरालीका नारायण नेपालले लेख्नुभएको ‘कञ्चना’ नामक कृति विमोचन गरिएको थियो ।

देवकोटाले विसं १९९७ तिर नुवाकोटको झिल्टुङमा मामा ससुराली आएको बेला ‘कुञ्जिनी’ खण्डकाव्य र ‘पहाडी जीवन’ निबन्ध लेखी यहाँको परिवेशलाई समेटेकाले हरेक वर्ष देवकोटाको जन्मजयन्तीको अवसर पारेर झिल्टुङमा कार्यक्रम गर्ने गरिएको महाकवि देवकोटा प्रतिष्ठानका अध्यक्ष केदारप्रसाद नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्