माथिल्लो अरूणको सर्वेक्षण अनुमतिपत्र प्राधिकरणलाई

‘गेम चेन्जर’ आयोजनाको रूपमा अगाडि बढाइने



नेपाल समाचारपत्र, काठमाडौं।

१०६१ मेगावाट क्षमताको माथिल्लो अरूण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकणले पाएको छ।

संखुवासभामा पर्ने सो आयोजनाको लाइसेन्स ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको अपर अरूण हाइड्रोइलेक्ट्रिक लिमिटेडलाई दिएको हो।

विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक करिब १ अर्ब २० करोड अमेरिकी डलर अर्थात करिब १ खर्ब २० अर्ब रुपियाँ रहेको छ।

विश्व बैंकको सहुलितपूर्ण ऋण लगानीमा आयोजनाको विस्तृत अध्ययन भइरहेको छ। सर्वेक्षण अनुमतिपत्रको अवधि दुई वर्षको रहेको छ। सरकारले फागुन २०६९ मा आफ्नो स्वामित्वमा रहने गरी प्राधिकरणमार्फत आयोजना निर्माण गर्ने निर्णय गरेको थियो।

सोही निर्णयका कारण कम्पनीले आयोजनाको सर्वे लाइसेन्स पाउन सकिरहेको थिएन। कम्पनीले २०७३ को चैतमा लाइसेन्सका लागि विद्युत् विकास विभागमा आवेदन दिएको थियो।

मन्त्रिपरिषद्को गत वर्ष माथिल्लो अरूण जलविद्युत आयोजनामा सर्वसाधारणको पनि शेयर रहने गरी कम्पनी मोडलमा निर्माण गर्न सहमति दिएको थियो।

मन्त्रिपरिषद् बैठकले आयोजना प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण गर्न सहमति दिएपछि आयोजनाको लाइसेन्स जारी गर्न बाटो खुलेको होे।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्धजलाशययुक्त माथिल्लो अरूणलाई उच्च प्राथमिकतामा राखी ‘गेम चेन्जर’ आयोजनाको रुपमा अगाडि बढाइने बताउनुभयो।

यो प्राधिकरणले निर्माण गर्न लागेको अहिलेसम्मकै ठूलो आयोजना हो। यस आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको शेयर र विश्व बैक, युरोपेली लगानी बैकको सुहलियतपूर्ण ऋण तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष जस्ता स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने छ,’ उहाँले भन्नुभयो– ‘सम्पूर्ण तयारी पूरा गरी एक वर्षभित्रमा निर्माण शुरु गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं।’

उहाँले विश्व बैंकले आयोजनामा करिब ५० करोड लगानी गर्न सक्ने प्रतिबद्धता जनाइसकेको जानकारी दिनुभयो।

विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक करिब १ अर्ब २० करोड अमेरिकी डलर अर्थात करिब १ खर्ब २० अर्ब रुपियाँ रहेको छ।

कुल लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी हुने प्राधिकरणको योजना छ। आयोजनाबाट वार्षिक रुपमा ४ अर्ब ४७ करोड ८० लाख युनिट ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ।

कुल वार्षिक ऊर्जामध्ये २८ प्रतिशत हिउँदमा उत्पादन हुनेछ। आगामी फागुनभित्रमा विस्तृत परियायोजना प्रतिवेदन र टेन्डर डकुमेन्ट तयार गरिसक्ने लक्ष्य राखिएको छ।

आयोजनाको निर्माण २०८३ को पुसभित्र सक्ने लक्ष्य तय गरिएको छ।माथिल्लो अरूण भारतीय कम्पनीले निर्माण गरिरहेको अरूण तेस्रोभन्दा माथि पर्छ। आयोजनाको बाँधस्थल भोटखोला गाउँपालिका–२ चेपुवामा पर्छ। विद्युत् गृह सोही गाउँपालिकाको वडा नं ४ चोमराङमा रहने छ।

आयोजनाले २ किलोमिटर सुरुङ, एउटा पुलसहितको २२ किलोमिटर पहुँच सडक बनाउनुपर्छ। परामर्शदाता कम्पनीले सडकको डिजाइन प्रतिबेदन बुझाइसकेको र यसको पुनरावलोकन भइरहेको आयोजना प्रमुख रामचन्द्र पौडेलले जानकारी दिनुभयो।

निर्माणका लागि ठेकेदार कम्पनी छनोटको लागि पूर्वयोग्यताको प्रक्रिया अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो।

आयोजना निर्माणस्थलमा नदीको वार्षिक बहाव दर उच्च रहेको र उच्च हिमाली क्षेत्रमा रहेका कारण खेतीयोग्य जमिन, मानव वस्ती कम भएकाले वातावरणीय प्रभाव कम पर्ने छ।

प्राधिकरणले माथिल्लो अरूणकै अंग रहने गरी ३० मेगावाटको इखुवा जलविद्युत् आयोजना अगाडि बढाएको छ।

माथिल्लो अरूणबाट उत्पादित विद्युत् ४० किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खाँदबारी नगरपालिकाको सित्तलपाटीमा रहने सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ।

 

प्रतिक्रिया दिनुहोस्