एमबीबीएस शुल्क विवाद बढी लिएको शुल्क फिर्ता गर्नुस्



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न आग्रह गर्नुभएको छ।

अनेरास्ववियुले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री पोखरेलले लिएको बढी शुल्क तत्काल फिर्ता नगरे मुद्दा लगाउनेसमेतको चेतावनी दिनुभयो।

उहाँले भन्नुभयो– ‘बढी लिएको शुल्क फिर्ता गर्नुस्, सरकारले मुद्दा चलाउन नपरोस्। मुद्दा चलाए राम्रो हुँदैन।’ उहाँले निजी मेडिकल कलेजलाई नियमानुसार अघि बढ्नसमेत आग्रह गर्नुभएको छ। ‘जुन ऐन बनेको छ, त्यसलाई टेकेर कार्यान्वयन गर्न लागौं, नियम विपरीत कुनै पनि काम गर्न कसैलाई छुट छैन।’ –उहाँले भन्नुभयो।

उहाँले चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति, साझा इन्ट्रान्सलगायतका विषयमा कार्यविधि तयार पारिरहेको बताउनुभयो।चिकित्सक डा. भगवान कोइरालाले पारदर्शीरूपमा सरकारको निर्देशन कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ। ‘उहाँले अन्डरटेबलमा कुनै पनि काम गर्नु राम्रो होइन, सबै पारदर्शीरूपमा काम गर्दा उचित हुन्छ।’ –उहाँको भनाइ थियो।

कार्यक्रममा बोल्दै निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष वसुरुद्धिन अन्सारीले सूचना निकालेर भर्ना गर्दा केही नबोल्ने, तर शुल्क घटाउनुपर्छ भनेर आन्दोलन गर्नु गलत भएको बताउनुभयो। भर्ना गर्दा लम्पसार पर्ने तर अहिले शुल्क फिर्ता गर भन्नु गलत नियम भएको उहाँको आरोप थियो।

सरकारले बढेको शुल्क तत्काल फिर्ता गर्न निर्देशन दिएपछि साँचो बुझाएर भर्ना नलिने आन्दोलन थालेका निजी मेडिकल कलेज सञ्चालकले यसअघि मन्त्री नै हटाइदिने चेतावनी दिएका थिए।

कार्यक्रममा पूर्वमन्त्री एवं नेकपाका नेता खगराज अधिकारीले निजी मेडिकल कलेजले ठगिरहेको आरोप लगाउँदै सरकारले तोकेको शुल्कमा पढाउनैपर्ने स्पष्ट पार्नुभयो।

उहाँले एक हप्तामा १५ जना विद्यार्थी पनि भर्ना नगर्ने अनि विद्यार्थीसँग मनपरी शुल्क असुल्ने मेडिकल कलेजले बढी लिएको शुल्क फिर्ता गर्नुको विकल्प नभएको बताउनुभयो।

अधिकांश कलेजको मापदण्ड पुगेको छैन, चुहिएको प्रयोगशालामा काम गर्न बाध्य भएका छन्। यस्ता कलेजले मनपरीरूपमा शुल्क लिएर विद्यार्थीमाथि ठगी गरिरहेको उहाँको आरोप थियो।

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी सावदले सबै निजी मेडिकल कलेजले बदमासी नगरेको तर्क गर्दै व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो।

नेकपाका नेता विनोद ढकालले तोकेको भन्दा बढी शुल्क लिन नहुने बताउँदै यसका लागि मापदण्ड निर्माण गर्नुपर्ने बताउनुभयो। नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले सरकारले बढी शुल्क लिएका कलेजमाथि कारबाही गर्नुपर्ने उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो– ‘सरकारले तोकेको शुल्क लिएर पढाउन नसक्ने भन्दै आन्दोलन गर्ने निजी मेडिकल कलेजलाई सरकारीकरण गर्नुपर्छ।

यो राम्रो अवसर हो अटेर गर्नेमाथि कारबाही गर्नेपर्छ।’निजी मेडिकल कलेज सञ्चालक सुनील शर्माले अहिलेको शुल्कमा अध्यापन गराउन सम्भव नभएको तर्क राख्नुभयो। अनेरास्ववियुका अध्यक्ष ऐन महरले सरकारले चिकित्सा शिक्षा ऐनलाई व्यवस्थित गर्न नसकेको बताउनुभयो।

सरकारले तत्काल ऐन कार्यान्वयन गर्नुुपर्ने धारणा राख्दै उहाँले ऐनअनुसार सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो। ‘तोकेको शुल्कमा नपढाउने निजी मेडिकल कलेजलाई कारबाही गर्न सरकारलाई आग्रह गर्छौं।

यदि सरकारले मान्दैन भने विद्यार्थीको हकहितका निम्ति हामी आन्दोलन गर्न बाध्य हुनेछौं। हामी नै त्यस्ता कलेजमाथि कारबाही गर्न पनि तयार छौं।’ –उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्