यदि तिमी आउँछौ भने…



शान्ता सापकोटा

बनिदिने छु म निशा सधैं
तिमी चन्द्र बनेर आउँछौ भने।

बनिदिनेछु म गीतका लहर
यदि संगीत भरेर गाउँछौ भने।

बनिदिनेछु म मरुभूमि
तिमी वर्षा बनेर आउँछौ भने।

बगिदिने छु म नदी बनेर
यदि तीर्खा बनेर धउँछौ भने।

ल्याइदिनेछु म वसन्त सधैं
तिमी मञ्जरी बनी पलाउँछौ भने।

रोकी दिनेछु म यो दिलको धड्कन
यदि श्वास बनी तिमी चलाउँछौ भने।

म चिम्लिदिनेछु आफ्ना नयन
तिमी स्मृति बनेर छाउँछौ भने।

म निदाइदिनेछु सदाका लागि
यदि सपनाभरि तिमी आउँछौ भने।

प्रतिक्रिया दिनुहोस्