भारतमै भयो आइफा अवार्ड



सरकारले करोडौं रकम खर्च गरेर नेपालमा आयोजना गर्न दिन लागेको विषयमा विवाद भएको बलिउडको फिल्म अवार्ड आइफा अवार्ड अन्ततः भारतमै भएको छ। आइफा अवार्डको २०औं संस्करण हालै भारतमा सम्पन्न भएको हो।

बलिउड नगरीका गनेचुनेका कलाकारहरूको उपस्थितिमा आयोजित आइफामा फिल्म राजी उत्कृष्ट फिल्म सावित भयो भने यही फिल्मबाट आलिया भट्टले उत्कृष्ट अभिनेतृ तथा रणवीर सिंहले पद्मावतबाट उत्कृष्ट अभिनेताको अवार्ड चुमेका छन्।

श्रीराम राघवनले फिल्म अन्धाधुनबाट उत्कृष्ट निर्देशकको अवार्ड चुमेको समारोहमा कथाको अवार्ड पनि यही फिल्मले चुमेको छ।

विक्की कौशलले सन्जुबाट सहअभिनेताको अवार्ड जित्दा पद्मावतबाट अदीति राव हैदरीले सहअभिनेतृको अवार्ड जितेकी छिन्।

इशान खट्टरले धडकबाट नवनायक तथा सारा अली खानले फिल्म केदारनाथबाट नवनायिकाको अवार्ड जितेका थिए।
अवार्डको २०औं संस्करणको अवसरमा पछिल्ला २० वर्षकै उत्कृष्ट काम गर्ने फिल्मकर्मीलाई पनि अवार्ड प्रदान गरिएको थियो।

जसमा रणवीर कपुरले २० वर्षको उत्कृष्ट नायक, दीपिका पादुकोणले नायिका, कहो ना प्यार हेले फिल्म र राजकुमार हिरानीले निर्देशक तथा प्रितमले संगीतकारको अवार्ड पाएका थिए।

प्रतिक्रिया दिनुहोस्