न्युरो शल्य चिकित्सकहरुको पहिलो सम्मेलन शुक्रबारदेखि काठमाडौमा हुँदै



भगवती तिमल्सिना, काठमाडौं । न्यूरो शल्यचिकित्सक समाज नेपाल (नेसोन) अन्तर्गत न्यूरो स्पाइन च्याप्टरको आयोजनामा असोज ३ र ४ गते राजधानीमा पहिलो स्पाइन कन्फ्ररेन्स २०१९ आयोजना हुन लागेको छ ।

नेसोनले बिहीबार काठमाडौं मेडिकल कलेज सिनामंगलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कलेजको न्यूरो सर्जरी विभागका प्रमुख, प्रा.डा.अमित थापाले नेपाल, भारत र अमेरिकाका न्यूरो सर्जन, अर्थाेपेडिक्स, फिजियोथेरापिष्ट, न्यूरो ट्रमा विशेषज्ञ, वाल नशारोग विशेषज्ञ, पार्किन्सन रोग विशेषज्ञ लगायत नर्सिङ्ग स्टाफसमेत गरि करीव एकसय जनाले भाग लिने बताउँनुभयो ।

मेरुदण्ड, नशा र मांशपेशीको उपचारसंग सम्वन्धित पछिल्लो अनुभव आदानप्रदान गर्ने, शल्यक्रिया र उपचारमा देखिएका चुनौतिका बारेमा छलफल गरि समाधान निकाल्ने गरि विभिन्न विषयका २० वटा रिसर्च पेपरमा छलफल गरिने, दुईवटा समूहगत छलफल, १४ वटा लेक्चर र २ वटा डमी मोडेलबाट विरामीको उपचार तरीका सिकाइने कन्फ्रेन्स चेयर एवम् अन्नपूर्ण न्यूरो अस्पतालका मेडिकल डाइरेक्टर डा.समिर आचार्यले बताउनुभयो ।

राष्ट्रिय ट्रमा सेन्टरका कन्सल्टेण्ट न्यूरोसर्जन एवम् नेसोनका अध्यक्ष डा.निलम कुमार खड्काले न्यूरो सर्जरीमा देखिएका समस्याबारे चर्चा गर्दै नेपालभरी हाल ८० जना मात्रै न्यूरोसर्जन रहेको त्यो पनि शहरमा मात्रै केन्द्रीत रहेको उल्लेख गर्दै हरेक प्रदेशमा न्यूरोसर्जनको व्यवस्था गर्न र मेरुदण्डको चोटका कारण घाइते भएकाहरुको पुर्नस्थापनाको लागि सरकारी तवरबाट पुनस्थापना केन्द्र स्थापनाको लागि सरकारसंग माग गर्नुभयो ।

डा.खडकाका अनुसार सो सम्मेलनबाट मेरुदण्ड र मेरुदण्डसंग सम्वन्धित रोग तथा चोटपटकहरुको उपचार, अनुसन्धान, तालीम र दक्षता अभिवृद्धि गर्न विशेष योगदान पुग्नेछ ।

पछिल्लो समयमा हड्डी खिएर, नशा च्यापिएर या दोव्रिएर, हड्डीमा ट्युमर पलाएर लगायत विभिन्न कारणबाट मेरुदण्डसम्वन्धि समस्या देखिने गरेको छ भने लडेर या सडक दुर्घटनाबाट समेत मेरुदण्ड भाँचिने लगायतका समस्याहरु देखा पर्ने गरेको चिकित्सक बताउँछन ।

न्युराे शल्य चिकित्सक समाज सन् २००७ मा स्व.डा.उपेन्द्र प्रसाद देवकोटको अध्यक्षतामा स्थापना भएको हो । हाल प्रा.डा.मोहनराज शर्मा यस संस्थाको अध्यक्ष हुनुहुन्छ भने डा.प्रविण श्रेष्ठ महासचिव हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्