खै के खै के ?



असोज लाग्न लागिसक्यो काठमाडौं शहरतिर फिस्स–फिस्स पानी परिरहेको छ। असार–साउन जस्तो हिलै हिलो। पैदलयात्रीदेखि सवारी यात्रीसम्मलाई उस्तै छ सास्ती, असोजमा त हिलो–मैलो हराएर सफासुग्घर हुन्छ, धूलो पनि उड्दैन भन्या सुन्या हो तर यसपालि त्यस्तो हुने कुनै छाँटकाँट देखिएको छैन।

अचम्मको छ, यो पानीको स्रोत के हो भन्ने कसैलाई थाहै छैन। पहिला–पहिला त पानी आउनुभन्दा पहिले नै बंगालको खाडीबाट आउने वा भारतीय वायुले भित्र्याउने भनेर रेडियोले फुक्थ्यो, पत्रकारहरूले समाचार लेख्थे।

खै यसपालि इन्द्रजीले त्यस्तो पारदर्शिता देखाउन सकेनन् राजनीतिक नेताहरूले आफ्नो घरबारको स्रोत देखाउन नसकेजस्तै।अर्काेतिर पानीराजा इन्द्र किन मौन हुन् भन्ने कुरामा धरहरा नै अलमल छ यसपालि।

कि इन्द्रलाई नै गाह्रो–साह्रो परेर कुरा नखोलेका हुन्, कि भन्नै नमिलेर हो, यतिका मान्छे डेंगुबाट संक्रमित हुँदा अनि केही मानिस मर्दासमेत मुखै नखोल्ने सरकार र इन्द्र उस्तै उस्तै लाग्यो धरहरालाई त। सोझो धरहराले कुरो बुझिसाध्ये छैनः खै के खै के ?

प्रतिक्रिया दिनुहोस्