मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पौडेल



सञ्चालक समिति सदस्यका प्रत्याशीमा सांसदहरू नै उम्मेदवार बनेका छन्। निर्वाचित हुने आठ सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ। प्रदेश सांसदसहित विभिन्न निकायका व्यक्तित्व उम्मेदवार छन्।

१७ सदस्यीय भने पदेन रहने क्याम्पसको विधानमा व्यवस्था छ। आठ सदस्यका लागि भदौ २८ गते २ बजे निर्वाचन हुनेछ।

क्याम्पस सञ्चालक समितिका ८ सदस्यमा बद्रीप्रसाद लम्साल, प्रदेश सांसद प्रेमबहादुर पुलामी, विनोद रिजाल, विष्णु दाहाल, नवराज विष्ट, कृष्ण धिताल, भगवती धिताल, पूर्वअध्यक्ष माइकल रामचन्द्र अर्याल, संविधानसभा सदस्य प्रह्लाद लामिछाने, प्रदेश सांसद कुमारी मोक्तान, अशोक शाक्य, भीमसेन महत, राजीव सुवेदी, अज्मिर केसीले उम्मेदवारी दिनुभएको छ।

क्याम्पस सञ्चालक समिति अध्यक्षमा संविधानसभा सदस्य मञ्च अध्यक्ष अनन्त पौडेल र लेखा समिति अध्यक्षमा हरि हुमागाईं निर्विरोध निर्वाचित हुनुभएको छ। १४आंै क्याम्पससभाले सञ्चालक समिति अध्यक्षमा पौडेल र लेखा समिति अध्यक्षमा हुमागाईंलाई निर्विरोध निर्वाचित गरेको हो।

यसअघि क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल हुनुहुन्थ्यो।क्याम्पसको १४औं क्याम्पससभाको हेटौंडामा उद्घाटन गर्दै प्रदेश–३ का मुख्यमन्त्री पौडेलले क्याम्पसमा भइरहेका नराम्रा गतिविधिलाई रोक्नुपर्ने बताउनुभयो।

मकवानपुर बहुमुखी क्याम्पसमा सेवा सुविधा बढाउने कुरा मात्र गर्ने नभएर गुणस्तरीय शिक्षा दिन ध्यान दिनुपर्ने उहाँले औंल्याउनुभयो।उहाँले भन्नुभयो– ‘हामीले यसको हितमा धेरै काम गरेका छांै र हित पनि सोचेका छौं।

प्राध्यापक र विद्यार्थीले आफ्ना हितका लागि मात्र भन्दा पनि सिंगो क्याम्पसको हितका लागि सोच्नुपर्छ।’ विसं २०३७ माघ १९ गतेदेखि सञ्चालनमा आएको यस क्षेत्रको ठूलो सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा नेपालभरका क्याम्पसमध्ये सबभन्दा बढी विद्यार्थी भर्ना भएका छन्।

२०६३ सालमा भारत सरकारको सहयोगमा निर्मित १८ कोठे तीनतले भवन क्याम्पसको अर्को आकर्षण हो। २०६५ सालमा दोस्रो उच्च शिक्षा परियोजनाले देशभरका पाँच उत्कृष्ट क्याम्पसमध्ये एकमा सूचीकृत गरेको मकवानपुर क्याम्पसलाई परियोजनाले करोडौं रुपियाँ सहयोग गरिसकेको छ।

विश्वविद्यालय अनुदान आयोगले २०६९ जेठ १६ गते क्यूएए (क्वालिटी एस्सुरेन्स एन्ड एक्रिडिएसन सर्टिफिकेट) प्रदान गरेपछि यसको चर्चा बढेको छ।

अन्य सामुदायिक क्याम्पसको भन्दा बर्षेनी क्याम्पससभा गर्ने प्रचलन, आय–व्ययलाई पारदर्शी बनाइने र सञ्चालक समितिको निर्वाचनलाई पारदर्शी बनाइने भएकाले क्याम्पस देशभरका उत्कृष्ट ५ मध्येपरेको पौडेलको ठम्याइँ छ।

२०५२ सालदेखि कक्षा ११ को पढाइ शुरू गरेको क्याम्पसले हालसम्म उत्कृष्ट नतिजा पस्कन सकेको छ। बेला–बेलामा देशभरमा उत्कृष्ट नतिजा ल्याउने गरेको र निजी क्याम्पसको नतिजासँग प्रतिस्पर्धा गर्दै आएको क्याम्पसभित्र देखिएको असल संरचना नै क्याम्पस विकासको सूचक मानिएको छ।

त्रिविका आंगिक क्याम्पसले मात्र विद्यार्थीको चाप थेग्न नसकेपछि नाफारहित उद्देश्यबाट सामुदायिक क्याम्पस खोल्न दिने नीतिबमोजिम त्यस बेला खोलिएका २३ क्याम्पसमध्ये मकवानपुर क्याम्पस पनि एक हो।

सात प्राध्यापक र करिब ३ सय विद्यार्थीबाट शुरू गरिएको क्याम्पसलाई तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङले दुई बिगाह जग्गा उपलब्ध गराउनुभएको थियो।त्यसअघि आधुनिक राष्ट्रिय माविको केही कोठामा क्याम्पसले पढाइ गरेको थियो।

आफ्नै जग्गामा पूर्वाधार क्रमशः थप्न नारायणी यातायात व्यवसायी संघ, जिल्ला विकास समिति, मकवानपुर उद्योग वाणिज्य संघ, नगरपालिका, उद्योग संघ हेटौंडा, हेटौंडा सिमेन्ट र नेपाल टेलिकमलगायत संघ–संस्थाले उल्लेख्य सहयोग गरेको क्याम्पस प्रमुख बच्चुराम अधिकारीले सम्झिनुभयो।

प्रतिक्रिया दिनुहोस्