झमकको जीवन काँडा कि फूल ट्रेलरमा



साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित फिल्म जीवन काँडा कि फूलको ट्रेलर सार्वजनिक गरिएको छ। आगामी कात्तिक २२ गते रिलिजमा आउने फिल्मको मंगलबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको हो।

फिल्ममा झमक सानो छँदाको भूमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भूमिकामा काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन्। त्यस्तै झमकको बहिनीको भूमिकामा सारिका घिमिरे, बुबाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरीलगायत ३० भन्दा बढी कलाकारले फिल्ममा अभिनय गरेका छन्।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा र संवाद रहेको फिल्ममा झमक र प्रकाश शिवाकोटीको गीत रहेको छ। प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतमको स्वर, कमल राईको नृत्य निर्देशन, शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ।

बद्री चौहान र उमेश सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा जुनु गौतम सहनिर्मात्री रहेकी छिन् भने फिल्म विनोद विष्टको निर्माण र निर्देशनमा बनेको हो। विष्टले यसअघि प्रेम प्रतीक्षा, रणसंग्राम, म कसरी भनुँ जस्ता फिल्म निर्माण र निर्देशन गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्