समाजसेवालाई निरन्तरता दिन्छु



हंसबहादुर विष्ट
अध्यक्ष, राइटर लोकबहादुर विष्ट प्रतिष्ठान

हंसबहादुर बिष्ट लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएको छ । नेपालको कर्मचारी आन्दोलनमा आफुलाई स्थापित गराउनु भएका बिष्ट पारिवारिक कारणले एका एक अमेरिका पुग्नु भयो । अमेरिकामा रहदा पनि नेपालमा केही न केही गर्नु पर्दछ भन्ने मान्यात राख्दै आउनु भएका बिष्ट अहिले आफ्नै बाजे लोकबहादुर बिष्टको नाममा प्रतिष्ठान खडा गरेर सामाजिक काममा सक्रिय हुन लाग्नु भएको छ । उहांसंग नेपाल समाचारपत्रले गरेको कुराकानीको सार संक्षेप

लामो समयदेखि अमेरिका बस्दै आउनु भएको तपाई ? अहिले नेपालमा आएर समाज सेवा गर्ने प्रण गर्नु भएको छ ? कस्तो समाज सेवा गर्न लागनु भएको छ ?
अमेरिका गएपनि मेरो तन मन धन त नेपालमा नै छ । त्यसै कारणले उहां सिकेका केही कुरा नेपालमा नै लागू गरु भन्ने भावनाले म अहिले नेपाल आएको छु । आफ्नो मातृ भूमीलाई कस्ले बिर्सन सक्छ र मपनि अव नेपालमा केही गर्नु पर्दछ भन्ने उदेश्य बोकेर अहिले यहा आएको छु । अव म समाज सेवामा लाग्ने प्रण गर्दै नेपाल आएको हुं ।

अछामलाई कार्यक्षेत्र बनाएर यहांले संस्था दर्ता गरी अक्षयकोष समेत स्थापना गर्नु भएको रहेछ ? अव कस्तो क्षेत्रलाई सहयोग गर्नु हुन्छ ?
म जन्मेको ठाउं अछाम हो मैले त्यो ठाउंलाई केही गर्नु पर्दछ भन्ने भावना जागेर आएपछि मेरो बाजे राइटर लोकबहादुर बिष्टको नाममा एउटा राइटर लोकबहादुर बिष्ट प्रतिष्ठान स्थापना गरेको मेरो आम्दानीको केही रकम मैले प्रतिष्ठानमा जम्मा गरेको छु । अहिले मेरा आफन्त र इष्टमित्रले समेत उक्त प्रतिष्ठानमा रकम जम्मा गराउने प्रकृया शुरु गर्नु भएको छ ।

मैले अहिले ५ लाख रुपियाको अक्षकोष स्थापना गरेको छु । मैले शुरुमा शिक्षा क्षेत्रमा केही गर्ने जमर्को गरेको छु ।पहिलो चरणमा गरिव र पिछडिएको बर्गका बालबालिकालाई सहयोग गर्ने र त्यसबाट बचेको रकमले अन्य क्षेत्रमा समेत लगानी गर्ने सोच बनाएको छु । शुरुमा अछामलाई कार्यक्षेत्र बनाएपनि यसलाई भोलि देशब्यापी रुपमा लैजाने सोच बनाएको छु । मैले यसकालागि मेरा इष्टमित्रहरुलाई भनेको छु । उहांहरुले पनि मेरो कामलाई सहयोग गर्ने बचन दिनु भएको छ । मैले सोचेको जस्तो काम हुन्छ भन्नेमा म ढुक्क छु ।

मैले गरेको काम अरुले पनि गरुन भन्ने उदेश्य हो । तर म कसैसंगपनि चन्दा मागेर भने कोष स्थापना गर्दिन । मेरो परिवार र इष्टमित्र भन्दा बाहिर गएर रकम लिन्न । आफन्तले पनि स्वइच्छाले दिनुभयो भने मात्रै सहयोग लिन्छु । यसलाई जति सकिन्छ त्यती ठुलो बनाउने प्रयास गर्ने छु । भोलि हाम्रो लक्ष्य भनेको दुर्गम क्षेत्रमा रहेका अस्पतालहरुलाई चाहिने उपकरण सहयोग गर्ने लक्ष्य समेत राखिएको छ ।

कसैले हामी पनि तपाईको संस्था मार्फत सहयोग गर्छौ भनेर भने भने सहयोग लिनुहुन्छ कि लिनु हुन्न ?
हामी कसैसंग सहयोग चाहियो भनेर माग्दैनौ यदी कसैले तपाईको संस्थालाई सहयोग गर्छु भन्यो भने हामी त्यसलाई स्वीकार गर्छौ । माग्न नजाने तर सहयोेगी हातहरु आए भने त्यसलाई स्वीकार गरेर जाने छौ । हाम्रो उदेश्य भनेको नेपाल संबृद्ध नेपाल नै हो । हामी अहिलेको सरकारले अघि सारेको सुखी नेपाली संबृद्ध नेपालको नारालाइृ सहयोग गर्न चाहान्छौ ।

तपाइ लामो समय सम्म नेपालमा नेकपा एमाले सम्वद्ध कर्मचारी संगठनको नेतृत्वदायी भूमिकामा समेत रहनु भएको थियो । हिजो अवस्था र आजको अवस्थामा के फरक पाउनु भएको छ ?
हिजो र आजको अवस्था निकै फरक छ । हिजो काम गर्न अफ्ठेरो थियो तर आज काम गर्न निकै सजिलो छ । म बामपन्थी बिचार धाराको मान्छे । म नेपाल बिद्युत प्राधिकरणमा लामो समय सम्म काम गरें । त्यस बेला हामी हाम्रो संस्थामा अनियमितिता नहोस भन्ने थियो । भ्रष्टाचार नहोस र संस्थको उन्नती होस र संस्था संगै कर्मचारीको पनि राम्रो होस भन्नेमा लागेका थियौं । कर्मचारीको हककोलागि लागि परेका थियौं ।

त्यस बेला सरकार ५–५ महिनामा परिर्वतन हुने र सरकारलाई एउटा माग राखेर अघि बढ्यो अर्को सरकार आउने फेरी नयां सरकारलाई माग राख्यो काम होला होला जस्तो भएपछि सरकार फेरिने अवस्था थियो । अहिले त्यस्तो छैन अहिले ५ बर्षकालागि जनताले स्पष्ट म्याण्डेट दिएको सरकार छ । अव कर्मचारीले संस्थाको बिकास र कर्मचारीको हकहितको लागि काम गर्न सक्ने अवस्था छ । अव पनि काम गरिएन भने भोलिको पुस्ताले हामीलाई धिक्कार्ने छ ।

तपाई बामपन्थी बिचारधाराको मान्छे । अहिलेको बामपन्थीको २ तिहाईको सरकार छ तर यो सरकारले जनताको भावना अनुरुप काम गर्न सकेन भन्ने गुनासोलाई कसरी हेर्नु भएको छ ।
जनताले आशा गरेर नै कम्युनिष्टहरुलाई दुई तिहाई भोट दिएका हुन । राष्ट्रिय अन्तराष्ट्रिय रुपमा नेपालमा बामपन्थीहरु भावी नहुन भन्ने थियो तर जनताले २ तिहाई नै मत दिए । यो सररकारप्रति जनताको अपेक्षा पनि थियो । तर भैदियो के भने इच्छा आकांक्षा जनतामा पनि अत्याधिक नै बढ्यो तर सरकारले भने त्यो अनुरुपको काम गर्न सकेन । पार्टी भित्रबाट पनि बाहिर बाट पनि यो सरकारलाई स्वतन्त्र ढंगले काम गर्न दिइएको छैन भने अर्को तर्फ सरकारले जनताको पक्षमा जसरी काम गर्नु पर्ने थियो त्यसरी काम गर्न पनि सकेन । त्यसकारण सरकारप्रति प्रश्न चिन्ह उठेको महशुस मैले गरेको छु ।

यो सरकारले के ग¥यो भने जनताको मन जित्न सक्ला ?
जनताको मन जित्ने हो भने यो सरकार अव कठोर भएर अगाडि बढ्नु पर्दछ । यो सरकारको कमजोरी भनेको कुनैपनि काम गर्दा सोच बिचार नगर्ने, काम गर्नु अगाडि नै यो काम गर्छु भनेर घोषणा गर्ने अनि पार्टी भित्रैबाट दवाव आउछ अनि आफुले घोषणा गरेको काम फिर्ता लिने गरेको देखेको छु । कुनैपनि काम गर्दा त्यसले पार्ने असरका बारेमा बुझेर मात्र घोषणा गर्ने गर्नु पर्दछ । आफेले घोषणा गरेको कुरा फिर्ता लिने तहमा सरकार पुग्यो भने जनताले कसरी बिश्वास गर्दछ त्यस तर्फ यो सरकारको ध्यान जान जरुरी छ । जनताको पक्षमा काम गर्ने हो भने सरकारले ल्याउने कुनै पनि नयां कामको बारेमा ब्यापक छलफल गरेर मात्र ल्याउनु पर्दछ होईन भने गुठी बिधेयकमा सरकार जसरी चिप्लियो त्यसैगरी अन्य बिषयमा यो सरकार चिप्लिनु हुदैन भन्ने मेरो मान्यता हो ।

प्रतिक्रिया दिनुहोस्