३ सय ८० सम्पदाको पुन निर्माण सम्पन्न

0
Shares

काठमाडौं । बिनासकारी भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरु मध्ये ३ सय ८० वटाको पुनर्निर्माण सम्पन्न भएको छ ।
पुनर्निर्माण सम्पन्न पुरातात्विक सम्पदामध्ये विश्व सम्पदा सूची भित्रका ९६ वटा छन् भने विश्व सम्पदा सूची बाहिरका २ सय ८४ वटा रहेका छन् । ती सम्पदाको पुनर्निर्माण गर्न २१ अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ ।

पुनर्निर्माण सम्पन्न सम्पदाहरुमा हनुमानढोका दरवार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगरा घर, प्रताप मल्लको सालिक पुनस्थापना तथा तलेजु मन्दिर मुख्य छन् ।

त्यसैगरी भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिध्दिलक्ष्मी मन्दिर, नारायण मन्दिर, शंकरनारायण लगायतका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएका छन् ।

चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनर्निर्माण भएको छ भने स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अन्नतपुर मन्दिर, आनन्दकुटी महाविहार लगायतका सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण सकिएको छ ।

त्यस्तै पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुनस्थापना भएको छ भने मणिमण्डप र सुन्दरी चोकको पूर्वीलङको पुनर्निर्माण भएको छ ।
ऐतिहासिक कृष्ण मन्दिरको संरक्षण कार्य समेत गरिएको छ । त्यसैगरी थापाथलीस्थित जंगहिरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ स्तूपा लगायतका पुरातात्विक सम्पदाको पुनर्निर्माण भैसकेको छ ।

पुनर्निर्माण सम्पन्न – ३८०

पुनर्निर्माण सम्पन्न ९विश्व सम्पदा सूचीभित्रका – ९६

पुनर्निर्माण सम्पन्न विश्व सम्पदा सूची बाहिरका – २८४

चालु आर्थिक बर्षमा कार्यक्रम परेका– १५०

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको कार्य धेरै अघि बढिसकेकाले प्राधिकरणले पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माणलाई विशेष प्राथमिकता दिएर कार्य गर्ने बताउनुभयो ।

‘सम्पदाहरुको पुनर्निर्माणलाई अझ तीव्र पार्न पुरातत्व विभागको क्षमता वृद्धि गर्नुका साथै अनुगमनलाई थप प्रभावकारी बनाउँछौं’–उहाँले भन्नुभयो ।
पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले चालू आर्थिक वर्ष २०७६÷०७७ मा थप १ सय ५० वटा सम्पदाको पुनर्निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

पुनर्निर्माण भइरहेका मुख्य सम्पदामा रानीपोखरी, धरहरा, बसन्तपुरस्थित काष्ठमण्डप तथा नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित सात तले दरबार लगायत छन् ।

भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनर्निर्माणमा नेपाल सरकारका स्रोतका अतिरिक्त विभिन्न राष्ट्रहरुले पनि सहयोग गरेका छन् ।
यसरी सहयोग गर्नेमा चीन, भारत, अमेरिका, स्वीट्जरल्याण्ड, श्रीलंका, जापान लगायत छन् । काठमाडौँस्थित युनेस्को कार्यालय तथा अस्ट्रियाको भियनास्थित हेन्केल फाउन्डेसन तथा युनिभर्सिटी अफ एप्लाइड आर्टसले पनि सहयोग गरेका छन् ।

भूकम्पबाट कुल ८ सय ९१ वटा पुरातात्विक एवं सांस्कृतिक महत्व बोकेका सम्पदाहरुमा क्षति पुगेको थियो । ती मध्ये ७ सय ५३ वटा भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका छन् भने भूकम्प प्रभावित १७ जिल्लाका १ सय ३८ वटा सम्पदा छन् ।