काठमाडौं (नेस) । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्वारेन्टाइनको उचित प्रवन्ध गर्दै जडिवुटी निकासीलाई सहज बनाउन सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको छ ।
नेपालमा उत्पादित र संकलित सबै जडिवुटीको प्रशोधनको प्रबन्ध नेपालमै हुन नसकेको अवस्थामा क्वारेन्टाइनका कारण भइरहेको जडिवुटी निकासीमा अवरोध देखिएको थियो । यही कारण देखाई कांग्रेसले संकलित जडिवुटी खेर जाने र नोक्सान हुने तथा यस क्षेत्रका हजारौं नेपालीको रोजगारीलाई प्रभाव पार्ने भएकाले उक्त सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको थियो ।
बुधवार दर्ता गराएको सो प्रस्तावको सम्बन्धित मन्त्रालय उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय रहेको छ । क्वारेन्टाइनको समस्याका कारणले जडिवुटी निकासीमा आएको अवरोधलाई अन्त्य गर्नुपर्ने भएकोे कांग्रेसले यो प्रस्ताव दर्ता गराएको सांसद रंगमती शाहीले बताउनुभयो । सांसद शाही यो प्रस्तावको प्रस्तावक हुनुहुन्छ भने समर्थकमा सांसद बालकृष्ण खांण, डा. डिला संग्रौला र प्रकाश रसाइली रहनुभएको छ ।











प्रतिक्रिया