नेपाल समाचारपत्र, काठमाडौं ।
खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना आफ्नै कार्यकालमा पूरा हुने भनाइ दोहो¥याउनुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा मेलम्ची खानेपानीको विषयमा उठेको विषयलाई सम्बोधनको क्रममा उहाँले यस्तो भनाइ राख्नुभएको हो ।
उहाँले यसअघि पनि संसद र विभिन्न कार्यक्रमलाई सम्बोधनका क्रममा यस्तो भनाइ राख्दै आउनुभएको थियो ।
मेलम्चीको पानी चाँडै काठमाडौंबासीले खान पाउने भएकाले सबैलाई ढुक्क रहन आग्रह गर्ने उहाँले भन्नुभयो– ‘यो सरकार अघिल्ला सरकारजस्तो होइन । २४ मन्त्री फेरिए पनि मेलम्ची आएन भन्नुभो । तपाईंहरु सबै ढुक्क हुनूस्, अब २४ औं मन्त्रीकै पालामा मेलम्ची खानेपानी आयोजना बन्छ । मेलम्चीको खानेपानी चाँडै नै काठमाडौंबासीले खान पाउँछन् ।’
मन्त्रि मगरले ‘खानेपानी तथा सरसफाई विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावमाथि सैद्धान्तिक छलफलको क्रममा विभिन्न सांसदहरुले मेलम्चीबारे धारणा राखेका थिए ।
यसैक्रममा सांसद प्रकाश रसाइलीले मेलम्ची आयोजनाको काम मन्त्रालयले ३ प्रतिशत बाँकी रहेको बताएको तर त्यति काम गर्न मन्त्रालयले ढिलाइ गरेकोबारे प्रश्न उठाउनुभयो ।
सांसद पुष्पा भुसालले मेलम्ची आयोजना अन्तिम चरणमा पुग्दै गर्दा फेरि पनि विभिन्न वहानामा राज्यकोषको ढुकुटीको दुरुपयोग गर्ने काम भएको बताउँदै आगामी दिनमा त्यसो हुन नदिन मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
‘कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको समयमा मेलम्ची खानेपानी काठमाडौं बासीहरुलाई काकाकुलयुक्त जीवनबाट मुक्ति दिलाउनका लागि योजना आयो ।’, उहाँले भन्नुभयो–‘तर आज आएर जनताको करबाट उठाएको अर्बाैँ रकमलाई फेरि मन्त्रालयले लगानी गर्नुपरेको छ । यो दुःखद कुरा हो ।’
सांसद डा. डिला संग्रौलाले बिना टेन्डर मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्पन्न हुने लागतभन्दा दोब्बर रकममा दिइएको विषय संसदमा उठाउनुभएको छ ।
समय लम्ब्याउँदै काम नगर्ने परिपार्टी तर्फ प्रश्न तेर्साउँदै उहाँले ‘कहिलेसम्म आयोजनाको ठेक्का दिँदै जाने र सम्झौता तोड्दै जाने ?’ बताउनुभयो ।
‘नयाँ नयाँ ठेक्का गर्दै जाने । त्यो ठेक्का भित्र पनि अनियमितता हुँदै जाने । काठमाडौंवासीले पनि स्वच्छ खानेपानी खान नपाउने हो भने विगतको सरकारलाई औंला ठड्याएर हुँदैन । दुई तिहाइको सरकारले जनतालाई स्वच्छ खानेपानी कहिले दिन्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।
१ अर्ब ५५ करोडमा सम्पन्न हुने आयोजना बिनाटेन्डर झण्डै ३ अर्बमा ठेक्का दिइएको भन्दै उहाँले यसअघि खानेपानीको आयोजनाबाट इटालीको सिएमसी कम्पनीले हात झिक्नुमा मन्त्री र कम्पनीबीचको कमिसनको खेल कारण भएकोतर्फ संकेत गर्नुभयो ।
यस्तै अर्का सांसद राजेन्द्र कुमार केसीले पनि मन्त्रि मगर र सचिवका कारण राजधानी वासीहरुले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाउनुभयो । उहाँले अन्तिम चरणमा रहेको मेलम्ची आयोजनाको पानी मन्त्री र सचिवका कारण राजधानी आउन नपाएको दाबी समेत गर्नु भयो ।
‘काठमाडौं जस्तो ठाउँमा हामीले खानेपानी दिन सकेका छैनौं। म अत्यन्तै दुःखका साथ भन्न चाहन्छु कि तपाईंका कारणले मेलम्चीको खानेपानी राजधानीलाई उपलब्ध हुन सकेको छैन ।’, उहाँले भन्नुभयो ।











प्रतिक्रिया