सुशीलाले ल्याइन् तृषा



गीतकार, कवि तथा मुक्तककार सुशीला पौडेलको साहित्यकारका रूपमा अर्को परिचय थपिएको छ। अब उनी उपन्यासकार पनि भएकी छिन्।
उनले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी पहिलो उपन्यास तृषा लोकार्पण गरेकी छन्। गीतकार तथा फिल्मकर्मी यादव खरेल, गीतकार एसपी कोइराला, डा. कृष्ण्हरि बराल, साहित्यकार डा. गीता त्रिपाठीलगायतले संयुक्तरूपमा उनको उपन्यास सार्वजनिक गरेका हुन्।

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार भुवनहरि सिग्देलले समाजमा रहेको यौन कुण्ठालाई सहज, कलात्मक तथा मिठासपूर्ण तरिकाले प्रस्तुत गरिएको चर्चा गरे।

समालोचक गीता त्रिपाठीले प्रेम, बन्धन, स्वतन्त्रता तथा धोकालाई नारीको पक्षबाट नारीले भोगेको विषयलाई सहजरूपमा उक्त उपन्यासमा समेटिएको बताइन्।

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा सुशीलाले लेखक हुनको लागि जन्मजातै केही न केही प्रतिभा हुनुपर्ने चर्चा गर्दै भनिन्– ‘आफूमा भएको प्रतिभामा अभ्यास गरेपछि केही कुराको व्युत्पत्ति हुन्छ। मैले पनि त्यस्तै अभ्यास गर्दै तपाईंहरूसामु लेखक बनेर उभिने जमर्को गरेको छु।’ पुस्तकमा आधुनिक नारीका यौन कुण्ठालाई उपन्यासले कलात्मक तरिकाले प्रस्तुत गरेको उनको भनाइ थियो।

कार्यक्रममा सहभागी अतिथिहरूले उनलाई बधाई तथा शुभकामना दिएका थिए। शिखा बुक्सले प्रकाशन गरेको उपन्यासको मूल्य ३ सय ५० राखिएको छ।

प्रतिक्रिया दिनुहोस्