सरकारी शिक्षा: उपलब्धी ५० प्रतिशत मात्रै



यमलाल भुषाल, बुटवल । 
शिक्षामा राष्ट्रियताको भावना जागृत हुने किसिमले शैक्षिक पाठयक्रम बनाएर
व्यवहारमा लागु नहुदाँसम्म राज्यले अगाडी सारेको शैक्षिक उपलब्धी हासिल गर्न
नसकिने वक्ताहरुले औल्याएका छन ।

शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र(इआरओ) लेबुटवलमा आयोजना गरेको शैक्षिक छलफल कार्यक्रममा वोल्ने वक्ताहरुले साधन स्रोतको अभावमा शैक्षिक उपलब्धी मात्र खोज्नु गलत हुने धारणा राखेका थिए । शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले राज्यले गरेको लगानीमा शैक्षिक उपलब्धी ५० प्रतिशत पनि पुरा हुन नसक्नुमा दोष कसको हो भन्ने बारे अनुसन्धान गर्न जरुरी रहेको औल्याउनु भयो ।

कूल जनसंख्याको २० प्रतिशत विद्यालय जाने उम्मेरका युवा युवती रहेकोमा त्यसमा पनि साढे ३ प्रतिशत वालवालिका विद्यालय बाहिर रहेको उहाँले बताउनुभयो । विद्यालय र विद्यार्थीका वार्षिक अपेक्षा तय गर्नु पर्ने, विद्यार्थीको मनोभावना अनुसार उसलाई शिक्षा प्रदान गर्नु पर्ने र समुदाय र विद्यालय वीच समन्वय जरुरी रहेको महानिर्देशक पाण्डेले औल्याउनु भयो ।

केन्द्रका शैक्षिक गुणस्तर परीक्षण केन्द्रका श्याम आचार्यले विद्यालय स्तरको शिक्षामा गरिएको लगानीको प्रतिफल सन्तोष जनक नभएको बताउदै केवल २८ प्रतिशतले मात्र शैक्षिक उपलब्धी पुरा गरेको तथ्याङक प्रस्तुत गर्नु भयो । जुन घरपरिवारका आमा पढेलेखेका छन तिनै परिवारका वालवालिकाले मात्र शैक्षिक उपलब्धी हासिल गरेको पनि उहाँले औल्याउनु भयो ।

शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर पाँचका निर्देशक मनोज कुमार गैरेले शैक्षिक उपलब्धीका लागि कार्य सम्पादन र सिकाई उपलब्धीलाई समन्वय गरि अगाडी बढनु पर्नेमा जोड दिनु भयो । उहाँले गुण स्तरिय शिक्षाका लागि स्थानिय र प्रदेश सरकारले साधन स्रोत्तमा ध्यान दिन आग्रह गर्नु भयो ।

शिक्षा विकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकालले शैक्षिक क्षेत्रमा रहेकाहरुलाई समय अनुसार प्रशिक्षित गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले शैक्षिक गुणस्तर परीक्षण केन्द्रले अगाडी सारेका कार्य योजनालाई व्यवहारमा कार्यान्वय गर्न सकेमा शैक्षिक उपलब्धता हासिल गर्न टेवा पुग्ने धारणा राख्नु भयो ।

प्रतिक्रिया दिनुहोस्