सामाजिक सुरक्षा भत्ता बुझ्दै वृद्धवृद्धा



नेपाल समाचारपत्र, काभ्रे ।
पनौती नगरपालिका वडा नं ४ मा सोमबार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । यो वर्षको अन्तिम चौमासिक भत्ता वडा अध्यक्ष वुद्धसिं थापाले वितरण गर्नुभएको हो ।

पनौती वडा नंम्बर ४ मा मासिक भत्ता पाउने १ सय ८२ जना जेष्ठ नागरिक छन भने १ सय ६९ जना एकल महिला छन् । यो वडामा मासिक भत्ता पाउने अपाङ्गको संख्या २४ छ भने जेष्ठ दलितको संख्या ९ जना रहेको छ ।

पनौती नगरपालिकाले अविवाहित महिलालाई पनि मासिक भत्ता दिन थालेको छ । अविवाहित भत्ता नगरपालिकाको आफ्नै स्रोतले उपलब्ध गराएको हो ।
वडा सचिव राजकुमार श्रेष्ठका अनुसार नगरपालिकाले ३५ वर्ष पुरा भएका अविवाहित महिलालाई मासिक भत्ता उपलब्ध गराउने गरिएको छ ।

सरकारको नीति अनुसार यो आर्थिक वर्षमा ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई मासिक २ हजारको दरले भत्ता उपलब्ध गराइन्छ भने एकल महिलालाई मासिक १ हजारको दरले भत्ता उपलब्ध गराइदै आएको छ । एकल महिलालाको उमेरहद हटाइएको छ ।

पुर्ण अपाङ्गलाई मासिक २ हजार उपलब्ध गराइन्छ भने आंशिक अपाङ्गलाई मासिक ६ सयको दरले भत्ता उपलब्ध गराइन्छ । भत्ता पाउने अपाङ्गहरुको पनि उमेरहद छैन । ६० वर्ष उमेर पुगेका जेष्ठ दलितलाई मासिक १ हजार उपलब्ध गराइदै आएको छ ।

े आर्थिक वर्ष २०७६/०७७ को लागि भने सामाजिक सुरक्षा भत्ता मासिक एकहजार रुपैया वृद्धि गरिएको छ । अब श्रावणदेखि वृद्धवृद्धाहरुले मासिक तीनहजार रुपैया पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्