चिनियाँ प्रोफेसर टोलीद्वारा सरकार संचालनका विषयमा जिज्ञासा



यमलाल भुसाल, बुटवल । चिनियाँ प्रोफेसरको टोलीले बुटवलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय कमिटीसँग भेट गरी कम्युनिष्ट आन्दोलन र सरकार सञ्चालनका विषयमा छलफल गरेको छ ।

नेकपा बुटवल उपमहानगर कमिटीले शनिवार आयोजना गरेको छलफलमा सरकार र पार्टीको अन्तरसम्बन्ध, स्थानीय, प्रदेश र केन्द्रीय कमिटीको सम्बन्ध, दुवै देशले एक अर्काबाट सिक्नुपर्ने विभिन्न विषयहरुका बारेमा छलफल गरिएको थियो । छलफलमा हेवेई युनिभर्सिटीका प्रोफेसर जहाविन, युनान युनिभर्सिटीका प्रोफेसर यूआन कुनलगायत चारजनाको टोली सहभागी थियो ।

कार्यक्रममा हेवई युनिभर्सिटीका प्रोफेसर जहाङ सुविनले चीनमा पार्टीले सरकार सञ्चालन गर्ने र हरेक स्थानीय कमिटीहरु जनता र पार्टीप्रति जवाफदेही हुने भन्दै आफूहरु नेपालका कम्युनिष्ट पार्टीको इतिहास, यसको भूमिका, पार्टी र सरकार सञ्चालनको रणनीति, कम्युनिष्ट पार्टीका सैद्धान्तिक र व्यावहारिक पक्षबारे अध्ययन गर्न आएको बताउनु भयो ।

युनान युनिभर्सिटीका प्रोफेसर यूआन कुनले नेपालमा चिनिया भाषा संस्कृतिको समेत अध्ययन अध्यापन हुने गरेको भन्दै यसले दुई देशबीचको संस्कृति आदानप्रदानमा समेत महत्वपूर्ण टेवा पुर्याएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा संविधानसभा सदस्य एवं नेकपाका नेता नेत्र पन्थीले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना, कम्युनिष्ट आन्दोलन, पार्टीको कार्यदिशा, सरकार सञ्चालनमा पार्टीको भूमिका लगायत सैद्धान्तिक र व्यावहारिक पक्षबारे जानकारी गराउनु भएको थियो ।
उहांले नेपाली कम्युनिष्ट आन्दोलन जनवादी क्रान्ति पूरा गर्ने दिशामा अघि बढिरहेको भन्दै दुई देशबीचको सम्बन्ध आदानप्रदानले कम्युनिष्ट आन्दोलनलाई निष्कर्षमा पुर्याउन थप सहयोग पुग्ने बताउनु भयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख एवं नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले बुद्ध जन्मस्थल लुम्बिनीको बुटवलमा चिनिया प्रोफेसरसँगको छलफलले आपसी सम्बन्ध सुद्धृढ गर्न थप बल पुगेको भन्दै नेपाली कम्युनिष्ट आन्दोलन र अहिलेको अवस्थाबारे गहन अध्ययन गर्न सुझाव दिनु भयो ।

नेकपा बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले चिनियाँ प्रोफेसरहरुसँगको भेटले दुवै देशको विश्वविद्यालय तहको अनुभव आदानप्रदानमा समेत सहयोग पुगेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्