पोखरा बागलुङ्ग सडकको यात्रा जोखिमपुर्ण, बिद्युतका पोल धरापमा



पर्वत ।  मनसुन शुरुभएपछि मध्यपहाडी लोकमार्गको पोखरा –बागलुङ्ग खण्डको यात्रा जोखिमपुर्ण बन्दै गएको छ । स्तरउन्नतीको क्रममा रहेको मध्यपहाडी लोकमार्गमा पर्ने पोखरा –बागलुङ्ग खण्डमा जुनसुकै बेला पनि पहिरो खस्न सक्ने भएकाले जोखिमपुर्ण बनेको हो ।

बर्षा शुरुभएपछि धेरै ठाउँमा पहिरो झरेको छ भने कटान गरिएका भीरहरुमा जुनसुकैबेला पनि पहिरो खस्ने संभावना छ । सडकको पर्वत खण्डमा पर्ने कुस्मा देखि पातीचौर सम्म र डिमुवा देखि नयाँपुल खण्ड तथा कास्कीमा पर्ने नयाँपुल देखि गिरीचोक सम्मको खण्ड पहिरोको उच्च जोखिममा छ । कास्कीको गिरीचोक नजिक निरन्तर पहिरो झरिरहेका कारण समय समयमा यातयात अबरुद्ध भैरहेको छ ।

जुनसुकै बेला पनि माथिबाट पहिरो झर्ने संभावना भएकाले यात्रुलाई सचेत भएर यात्रा गर्न आब्हान गरिएको सडक स्तरउन्नतीको काम गरिरहेको एपेक्स कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर काशीराज बोहराले बताउनुभयो । निरन्तर पहिरो झर्ने र सफा गर्न समेत कतिपय अबस्थामा कठिन हुने भएकाले यात्रा गर्दा ध्यान दिन आग्रह गरिएको उहाँले बताउनुभयो । एउटा स्काभेटर तयारी अबस्थामा राखेर पहिरो हटाउने काम भैरहेको बोहराले जानकारी दिनुभयो । स्काभेटर तयारी अबस्थामा छ तर कतिबेला पहिरो झर्छ भनेर अनुमान गर्न कठिन भएकाले यात्रीले अगाडी हेरेर पनि जान आवश्यक छ उहाँले भन्नुभयो यात्रुले जोखिम छ भनेर ध्यान नदिदा दुर्घटना नहोस भन्ने तर्फ सचेत हुन जरुरी छ । पहिरो जाने स्थान नजिकबाट झोबाङ्ग हुदै बैकल्पिक सडक रहेको छ ।

सडकको पर्वत खण्डमा डिमुवाको माहुरीभीर, आम्बोट र भ्याप्लेखोला नजिकको भीर, चुवा नजिकका भीरहरुमा पनि पहिरोको उच्च जोखिम छ । पहिरो गएको अबस्थामा हटाउनका लागि डिमुवा, आम्बोट, कुस्मामा स्काभेटर तयारी अबस्थामा राखिएको लामा कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले जानकारी दिनुभयो । गएको बर्ष पनि यी स्थानहरुमा भारी बर्षा हुँदा पहिरो र लेदोका कारण पटक पटक सडक अबरुद्ध भएका थिए ।

अबरुद्ध सडक आधा घण्टामा खुलाउने तयारी

पहिरोको जोखिम कायम रहेको र सडक अबरुद्ध भए आधा घण्टामा नै खुलाउने ब्यबस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । पर्वत खण्डमा पहिरो गएमा आधा घण्टामा नै खुलाउने गरि सबै साधन र जनशक्ति तयारी अबस्थामा राखेका छौ उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल र डिएसपी अर्याल सहितको सुरक्षा टोलीले मालढुंगा देखि पर्वतको सिमाना अधेँरी खोला सम्मको सडकको अबलोकन गरेर सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन समेत दिएको थियो । निर्देशनपछि अधिकाँश खाल्डाखुल्डी निर्माण कम्पनीले पुरेको छ तर बर्षा र बाढीका कारण खाल्डा पर्ने क्रम रहेकाले पुर्ने कामलाई निरन्तरता दिनुपर्ने देखिन्छ ।

बिद्युतका पोल धरापमा

सडक बिस्तारका क्रममा बिद्युतका पोल समेत धरापममा परेका छन । पर्वत खण्डमा सडक किनारमा रहेका धेरै पोलहरु ढल्ने अबस्थामा पुगेको नेपाल बिद्युत प्राधिकरण पर्वत बितरण केन्द्रका प्रमुख हरिनारायण चौधरीले बताउनुभयो । शनिबार बिहान मात्रै चुवामा धरापमा परेका चार वटा पोल परिर्वतन गरिएको उहाँले जानकारी दिनुभयो ।

हिउँदमा पोललाई छाडेर सडक बिस्तारका लागि खनिएको तर बर्षामा पानीका कारण लच्किएर जुनसुकै बेला पनि जोखिम बढ्ने खतरा भएको प्रमुख चौधरीको भनाई छ । पोललाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि निर्माण कम्पनीले वातावरण बनाईदिनुपर्ने भनाई उहाँको छ ।

प्रतिक्रिया दिनुहोस्