पुसेट क्याम्पसका डीनको कार्यालयमा प्राध्यापकद्वारा तालाबन्दी



सरोज यमदव, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय(पूवि)को आंगिक क्याम्पस पूवि स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी(पुसेट) का प्राध्यापकहरूले विज्ञान तथा प्रविधि संकाय डीनको कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्राध्यापकहरूले विभिन्न सातबुँदे माग अघि सार्दै बिहीबार विराटनगर–१ स्थित विज्ञान तथा प्रविधि संकाय डीनको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । विज्ञान तथा प्रविधि संकायका डीन डा. शुभनारायण पाठक लामो समयदेखि मोबाइल स्वीच अफ गरेर सम्पर्कबिहीन रहेको, काठमाडौंमा आफ्नै घरमा बसेर काजवापतको रकम लिने गरेको, संकायअन्तर्गतका विभिन्न समितिको बैठक काठमाडौंमै राख्ने गरेकाले बाध्य भएर तालाबन्दी गर्नु परेको विज्ञप्तिमा जनाइएको छ । पुसेटमा सञ्चालित इलेक्ट्रिकल इञ्जिनियरिङ शैक्षिक कार्यक्रमको नेपाल इञ्जिनियरिङ काउन्सिलबाट मान्यताका लागि आवश्यक पहल नगरेको आरोप लगाउँदै विज्ञप्तिमा आंगिक क्याम्पस व्यवस्थित र सक्षम नभएसम्म निजी क्याम्पसलाई स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम थप गर्ने तथा नयाँ सम्बन्धन दिने कार्य तत्काल स्थगन गर्न माग गरिएको छ ।

त्यसैगरी निजी शैक्षिक संस्थालाई आंगिक क्याम्पसमा सञ्चालित स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम मात्र सञ्चालनको अनुमति दिनुपर्ने, नेपाल सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिको ‘नयाँ नीतिगत निर्णय गर्न नहुने’ सिफारिसविपरीत निजी क्याम्पसलाई शैक्षिक कार्यक्रम थपका साथै नयाँ सम्बन्धन दिने उद्देश्यले राखिएको विद्यापरिषद्को बैठक स्थगन गर्र्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । संकायअन्तर्गतका समितिमा आंगिक क्याम्पसका प्रमुख तथा प्राध्यापकहरूलाई प्राथमिकता दिनुपर्ने, विद्यापरिषद्को पुनर्गठन गर्नुपर्ने, संकाय डीनको कार्यालय पुसेट क्याम्पस परिसरमा राख्नुपर्नेलगायतका माग अघि सार्दै विज्ञप्तिमा माग सम्बोधन नभएसम्म तालाबन्दी जारी रहने जनाइएको छ । आन्दोलनका थप कार्यक्रम पछि प्रकाशित गर्ने उल्लेख गर्दै प्राध्यापकहरूले त्यसबाट उत्पन्न हुने सम्पूर्ण घटनाको जिम्मेवारी डीन डा.पाठकले नै लिनुपर्ने चेतावनीसमेत दिएका छन् ।

पूवि प्राध्यापक संघ र पूवि कर्मचारी संघले पाँच विद्यार्थी संगठनबाट भएको विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगमा भएको तोडफोडको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै सो कार्यको भत्र्सना गरेका छन् । प्राध्यापक संघका सभापति डा. सन्देशदास श्रेष्ठ र कर्मचारी संघका सभापति राजकुमार सापकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै कुनै बहानामा सार्वजनिक सम्पत्तिको क्षति हुने गरी भएको घटनाले कानूनी राज्य र लोकतन्त्रको उपहास भएको उल्लेख गरेका छन् । जिम्मेवार पदाधिकारीहरूबाट विश्वविद्यालयमा देखिएको समस्याको निकास लागि ठोस पहल नभएकोप्रति दुःख व्यक्त गर्दै विज्ञप्तिमा सबै पक्षलाई जिम्मेवार हुन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्