पुष्कर बुढाथोकी, भक्तपुर ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदन तयार भएको बताउनुभएको छ । नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठन नेपालको एकता महाधिवेशनलाई आज भक्तपुरको बोडेमा सम्बोधन गर्दै उहाँले दुई अध्यक्षबीच सहमतिमा पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशनको टुंगो लागेको बताउनुभयो ।
पटकपटक छलफल भए पनि प्रकाशनमा जाने टुंगो नलागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिक प्रतिवेदन आज बिहान बालुवाटारमा अध्यक्ष ओली र आफू बसेर प्रकाशनको टुंगो लगाएको बताउनुभयो । नेकपाको राजनीतिक प्रतिवेदन भोलि प्रकाशनमा जाने बताउँदै उहाँले पार्टी एकताको सन्दर्भको यो एउटा ठूलो काम भएको उल्लेख गर्नुभयो ।

राजनीतिक प्रतिवेदन तयार भएसँगै पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीति प्रस्ट भएको उहाँको भनाई थियो । उहाँले राजनीतिक प्रतिवेदनमा पार्टीको आगामी अधिवेशन एकताको महाधिवेशन हुने र सो महाधिवेशनमा विचार, राजनीति र नेतृत्वको विषय सहमति र समझदारीमै टुङ्गो लगाउने उल्लेख गरिएको दावी पनि गर्नुभयो ।
अध्यक्ष दाहालले दुई पार्टीबीचको एकता संक्रमणकालमै रहेकाले नीति निर्माण र नेतृत्व चयनमा गम्भिर भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।उहाँले अहिलेका लागि नेतृत्व चयन अल्पमत र बहुमतको आधारमा नहुने भएकाले सोही अनुसार संगठनहरुको नीति र नेतृत्व चयन गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।
अध्यक्ष प्रचण्डले शासनमा पुगेपछि कम्युनिष्ट नेतृत्वको सरकारको लोकप्रियताको ‘ग्राफ’ घटेर जाने गरेको देखिएको उल्लेख गर्दै सो चुनौतिलाई सामना गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो ।“कम्युनिष्टहरु अन्तर्राष्ट्रिय रुपमा आन्दोलन गर्दा लोकप्रिय हुन्छन् तर शासन सत्तामा पुगेपछि भने सफल हुदैनन्, सत्ताको अनुभव नुहँदा समस्या आउँछ भन्ने भनाई छ, ”–प्रचण्डले भन्नुभयो– “नेपालका कम्युनिष्ट आन्दोलनमा मात्रै होईन सरकार संचालनमा पनि सफल छन् भन्ने देखाउनुपर्छ ।”

अबको एक महिनामा पार्टी एकताको सम्पुर्ण प्रकया पुरा गरी सिंगो पार्टी र सरकार जनअपेक्षा सम्बोधन गर्न तर्फ केन्द्रित हुने बताउनुभयो ।पार्टी एकताको सन्दर्भ अहिले संक्रमणमा रहेको उहाँको भनाई थियो ।अध्यक्ष प्रचण्डले संसारमा कम्युनिष्टहरु आन्दोलन गर्न लोकप्रिय तर शासन गर्ने सवालमा अलोकप्रिय बन्ने गरेको भन्दै गुटगत स्वार्थलाइ त्यागी सामूहिक स्वार्थलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
नेकपा नेतृत्वको सरकारले जनअपेक्षा अनुसार बिकास र समृद्धिको सपना पुरा गर्न नसके दुर्भाग्य हुने बताउँदै उहाँले यस बेला नेकपा र नेकपा नेतृत्वको सरकार बिशेष परिस्थितिमा रहेको उल्लेख गर्नुभयो ।सरकार र पार्टीले देशलाई स्थायित्व, सम्बृद्धि र विकास दिन नसके दुर्भाग्य हुने बताउदै उहाँले सबै खालका अहंकारलाई त्यागेर जनताको हितमा काम गर्ने भनाई राख्नुभयो ।
जनतालाई चुनाबमा जादा गरेको प्रतिबद्धता पुरा गर्नुपर्ने बताउदै अध्यक्ष प्रचण्डले भन्नुभयो–“सरकार र पार्टी दुबै यतिखेर विशेष परिस्थितिमा गुज्रिरहेको छ, पार्टी एकताको सन्दर्भ पनि संक्रमण मै छ, हामीले विगतमा गरेको घोषणालाई व्यबहारमा उतार्ने अग्नि परीक्षामा हामी रहेका छौ ।”पार्टी गुट र स्वार्थमा नभई देश र जनताको हितमा लाग्ने बताउदै उहाँले सरकारको लोकप्रियताको ग्राफलाई घटेन नदिई अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
पार्टीको आगामी महाधिवेशन एकताको महाधिवेशन हुने बताउदै प्रचण्डले भन्नुभयो–“एकता पछिको पार्टीको आगामी महाधिवेशन एकता महाधिवेशन नै हुन्छ, यसमा कुनै चुनाव र मतदान हुदैन,सहमतिबाटै अगाडि बढ्ने हो, त्यसपछिको महाधिवेशन मतदान प्रक्रियामा जाला ।”उहाँले एकताबद्ध भएर तल्लो तहसम्म जानुपर्नेमा जोड दिनुभयो ।
नेकपा र सरकार बिगतमा गरेका घोषणा र बाचा ब्यबहारमा कार्यान्वयन गर्ने अग्नीपरीक्षामा रहेको उहाँको भनाई थियो ।अब केही हुन्छ कि भन्ने जनताको अपेक्षा रहे पनि सरकारको लोकप्रियताको ग्राफ घट्दै गएमा पार्टीको नियत सफा भए पनि नियतिले भुईंमा बजार्ने उहाँको भनाई थियो ।उहाँले कम्युनिष्ट नेतृत्व सरकार असफल हुन्छ भन्नेहरुलाई सरकार सफल बनाएर देखाउने पर्ने बताउनु भयो ।











प्रतिक्रिया