लोक संस्कृति संरक्षणमा जेष्ठ नागरिक र युवाको हातेमालो

0
Shares

चिरञ्जीवी मास्के, दोलखा ।

गैरी खेतको रोपाई, आउनु होला तपाई
छाता हैन घुम लिएर…

दोलखा कालिञ्चोक गाँउपालिका वडा नम्बर ८ सााखल्पु का ७७ बर्षिय प्रेमबहादुर आचार्य बढ्दो उमेरको समेत पर्वाह नगरि अहिले पनि गाँउ घरमा हुने रोपाई र मेलापातामा यस्तै गित गाउन पुग्ने गर्छन् । तर उनलाई चिन्ता छ परम्परागत रुपमा गाँईदै आएको रोपाई र दाईका गितहरु, खैजेडी, भजन, लोक बाजा, शास्त्रीय भजन जस्ता कुराहरु लोप हुने हो की भन्ने ।

प्रेमबहादुर आचार्य जस्ता जेष्ठ नागरिकहरुकै चिन्ता र चासोकै कारण यतिवेला कालिञ्चोक गाँउपालिकाको वडा नम्बर ८ सुनखानी र वडा नम्बर ९ सुन्द्रावतीका युवाहरु समेत परम्परागत खैजेडी, भजन, रोपाई र दाईका गितहरु संरक्षण गर्न सीप हस्तान्तरण, डकुमेन्ट्रि निर्माण र साप्ताहिक रुपमा छलफल, गायन र वाद्येवादनमा सक्रिय बनेका छन् ।

परम्परागत गित र वाद्येवादनको संरक्षण तथा सीप हस्तान्तरणको लागि कालिञ्चोक गाँउपालिका वडा नम्बर ९ सुनखानीमा रहेको सुनखानी कला संस्कृति संरक्षण समाजले रोपाई र दाईमा गाईने गितहरु, खैजेडी भजन, लोक संस्कृति, मादल, बाँसुरी र हार्वोनियमका धुनहरु समेटेर डकुमेन्ट्रि फिल्म बनाउन लागेको छ । डकुमेन्ट्रि निर्माणको लागि अहिलेसम्म करिब पाँच लाख रुपैया सङ्कलन भएको र डकुमेन्ट्रि निर्माणको काम समेत अन्तिम चरणमा पुगेको समितिका सचिव शिवहरी शिवाकोटी बताउछन् ।

डकुमेन्ट्रि निर्माणको लागि गाँउको बिभिन्न मेलापात र काठमाडौँमा समेत पुगेर सक्रियता पूर्वक काम गरिरहेका जेष्ठ नागरिक प्रेमबहादुर आचार्य परम्परागत कला संस्कृतिको संरक्षण र सम्वद्धनको लागि जेष्ठ नागरिकहरुले युवाहरुलाई आफ्नो सीप हस्तान्तरण र अनुभव आदानप्रदान समेत गर्नु पर्ने बताउछन् ।

कालिञ्चोककै वडा नम्बर ९ सुन्द्रावतीले पनि परम्परागत रैथाने शास्त्रीय भजन र लोकबाजा संरक्षणको लागि २०६२ साल देखिनै हरेक शनिवार सीप हस्तान्तरण गर्न जेष्ठ नागरिक र युवाहरु बीच छलफल र अनुभव आदानप्रदान कार्यक्रम गर्दै आएको स्थानिय युवा सन्तोष मैनाली बताउछन् । रैथाने शास्त्रीय भजन जोगाउन सीप हस्तान्तरण आवश्यक रहेको भन्दै जेष्ठ नागरिकहरुलेनै आग्रह गरेपछि युवाहरुको सक्रियतामा सुन्द्रावतीको कालिका मन्दिरमा हरेक शनिवार बेलुका भजन र्कितन सहित सीप हस्तान्तरण अभियान सञ्चालन हुदै आएको मैनालीले बताए ।

लोक बाजा र शास्त्रीय भजन संरक्षणको लागि आफुहरुले गरेको आग्रहलाई युवाहरुले सहजै स्वीकार गरेर हरेक हप्ता शनिवार मन्दिरमा भजन र्कितनको लागि उनीहरुको सहभागिता रहनु शुखद रहेको सुनद्रावतीका जेष्ठ नागरिक सुर्यप्रसाद ओली बताउछन् । लोक बाजा र शास्त्रीय भजन संरषणमा जेष्ठ नागरिक तथा युवाहरुको सक्रियता देखेर कालिञ्चोक गाँउपालिका वडा नम्बर ९ ले १० प्रकारको बाजा किनेर सहयोग गरेको वडा अध्यक्ष रामप्रसाद मैनालीले बताए ।