अधिकारी सिकिस्त

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
समाजसेवी तथा पुराना वामपन्थी नेता श्रीनाथ अधिकारी हाल बिरामी भएर अस्पताल भर्ना हुनुभएको छ । नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा आईसीयूमा राखेर उहाँको उपचार भइरहेको छोरा नारायण अधिकारीले जानकारी दिनुभयो ।

८ महिना अघि चितवनस्थित भरतपुर क्यान्सर अस्पतालबाट उपचार शुरु गर्नुभएका अधिकारीलाई २०७६ वैशाख २७ मा काठमाडौं ल्याइएको हो । उहाँलाई फोक्सोको क्यान्सर भएको हो । ‘खास गरी देब्रे फोक्सोमा क्यान्सर भए पनि अहिले त्यो शरीरको सबै ठाउँमा फैलिइसकेको छ’, छोरा नारायण अधिकारीले भन्नुभयो– ‘डाक्टरहरुले ४८ घण्टाको समय दिएका छन् । दिमागलगायत सबै ठाउँमा फैलिएकाले हामीले आश मारेका छौं ।’

२०४८ सालको निर्वाचनमा गोरखा क्षेत्र नं. १ बाट जनमोर्चाको तर्फबाट टिकट लिएर चुनाव लड्नुभएको थियो । १ हजार ५ सय मतअन्तरले नेपाली कांग्रेसका चिरञ्जीवी वाग्लेसँग पराजित हुनुभएको थियो ।

हाल उहाँ नेकपा (क्रान्तिकारी माओवादी) वैद्य समूहको पोलिटब्युरो सदस्य हुनुहुन्छ । उहाँ जिल्लामा पुराना वामपन्थी नेताको रुपमा चिनिनुहुन्छ ।


अहिलेसम्म सरकारले उहाँको उपचारमा ५ लाख रुपियाँ उपलब्ध गराएको पारिवारिक स्रोतले जानकारी गराएको छ । त्यसै गरी पार्टीबाट पनि ५ लाख हाराहारीकै सहयोग प्राप्त भएको नारायणले बताउनुभयो । अन्य विभिन्न संघसंस्था तथा शुभेच्छुकहरुले पनि उहाँको उपचारमा सहयोग गरिरहे्का छन् ।

४३ वर्षको राजीनिक इतिहास नै उहाँको सामाजिक जीवनको पाटोका रुपमा हेरिएको छ । व्यक्तिगत जीवनभन्दा सामाजिक जीवनलाई महत्व दिनुहुने उहाँ जीवनमरणको दोसाँधमा उपचाररत हुनुहुन्छ । ‘निजी सम्पत्ति गुमाएँ जे मैले पाएँ’ भन्ने गरेको उमाकान्त अधिकारीले बताउनुभएको छ । अहिले आफन्तजन, शुभचिन्तक तथा विभिन्न राजनीतिक दलका नेताहरु उहाँलाई भेट्न अस्पताल पुगेका छन् ।