सुखी नेपाली, समृद्ध नेपाल राति मात्र देख्ने सपना होइन



–भूमिप्रसाद त्रिपाठी

नेकपा सांसद (प्रतिनिधिसभा, धादिङ–१¬)
भूमिप्रसाद त्रिपाठी धादिङ–१ बाट निर्वाचिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद हुनुहुन्छ । २०३६ सालदेखि राजनीतिमा सक्रिय हुनुभएका उहाँ त्यति बेला अनेरास्ववियु एकताको पाँचौंको आदर्श मावि गजुरीको प्रारम्भिक कमिटीको अध्यक्ष बन्नुभयो । क्याम्पस अध्ययनका क्रममा नेपाल ल क्याम्पसमा आएर राजनीतिसँगै पढाइलाई पनि निरन्तरता दिनुभयो ।

ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सचिव पनि हुनुभयो । उहाँ धादिङ –काठमाडौं सम्पर्क मञ्चको २ कार्यकालसम्म अध्यक्ष हुनुभयो । पार्टीको जिल्ला कमिटी सदस्य दुईपटक, एकपटक सचिव र एकपटक उपाध्यक्ष हुँदै एमालेको अध्यक्ष बन्नुभयो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदा जिल्ला कमिटी अध्यक्ष रहनुभएका उहाँले अहिले एकीकृत पार्टीको पनि अध्यक्षको नै जिम्मेवारी पाउनुभएको छ ।

प्रतिनिधिसभामा २७ हजार मतअन्तरले प्रमुख प्रतिस्पर्धीलाई हराउने उहाँ आफ्नो क्षमताले भ्याएसम्म जिल्ला र क्षेत्रको विकास गर्नुपर्छ भन्ने धारणा राख्नुहुन्छ । सरकार र पार्टीले राम्रो काम गरिरहेको छ भन्ने उहाँसँग नेपाल समाचारपत्रका लागि गंगा बरालले गरेको समसामयिक राजनीतिक कुराकानी यस प्रकार छ:

अहिलेको राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?
यति बेला दुनियाँलाई चकित बनाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अघि बढेको छ । सरकार झन्डै २ तिहाइ नजिक छ । संघीय सरकार पनि हाम्रै बनेको छ भने एउटा प्रदेशबाहेक अरुमा पनि नेकपा सरकारको बलियो उपस्थिति मात्र होइन काम पनि त्यहीअनुसार नै भइरहेका छन् । तर सँगसँगै जनताको गुनासो सरकारले केही काम गरेन भन्ने पनि छ, यी र यस्ता कुरा छिटपुट रुपमा नआएका होइनन् । सरकार कहाँ र कसरी चुक्यो भन्ने खोजी गरेर के साँच्चै नै कतै बाटो बिराएको हो भने त्यसलाई पहिचान गरेर सच्याउनुपर्छ तर त्यस्तो गुनासो गरिहाल्ने बेला अहिले भएको छैन ।

हामी यति बेला नयाँ युगमा छौं, हिजोको जस्तो एउटा सरकार परिवर्तन भएर अर्को सरकार बनेको मात्र होइन यो । तर यसलाई अझै पनि सामान्य ढंगले हेर्ने गरिएको छ यसमा अचम्म लाग्छ । सरकारले यसबीचमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्न धेरै कानुन बनाउनुपर्ने थियो त्यो काम भयो, संविधानले व्यवस्था गरेका मौलिक हकसम्बन्धी कानुन पनि बने । संघ, प्रदेश र स्थानीय ३ तहका सरकारको परिकल्पना गरियो, नयाँ व्यवस्था भएकाले त्यसलाई व्यवस्थापन गर्न पनि समय लाग्यो । यी जति काम भए ती देखिएनन्, जनताको मन तत्काल नछोला तर पछि भने सरकारले गरेको रहेछ है भनेर अनुभूति हुनेछ । हिजो कसको अधिकार के हुने भनेर ३ तहबीच कानुन नबन्दा केही समस्या भएकै हो अब त्यस्तो अन्योलको पनि अन्त्य भइसकेको छ ।

सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा अघि सारेको छ तर त्यसतर्फ कुनै पनि काम भएको छैन नि ?
‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा नारा मात्र नभई लक्ष्य बन्नुपर्दछ । यो राति देखेको सपना होइन, दिउँसै पूरा गर्नुपर्दछ । अहिले हामीले पनि गरेनौं भने अरु कसैले केही गर्न सक्दैनन् तर एउटा दुःखद पाटो के छ भने हाम्रो यो महान् अभियानलाई असफल पार्ने काम कतैबाट भइरहेको छ, यो खतरा छ । सरकार मात्र असफल हुने होइन यो अवस्थामा एउटा सिस्टममाथि नै प्रहार हुन्छ र यो व्यवस्था नै संकटमा पर्छ ।

देश बनाउने कि बिगार्ने यो यति बेला सोच्ने महत्वपूर्ण बेला हो । अहिले बजेटले जनतालाई राहत दिएको छ, जसरी २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वको सरकार बन्दा जनतामा खुसी र उत्साह थियो अहिले पनि त्यही अवस्था छ किनभने बजेटले सबै जनताको मन छोएको छ । मेरो र हाम्रो सरकार भन्ने वातावरण बनेको छ तर केही तत्वहरुले बजेटकै पनि विरोध गरिरहेका छन् । कमसेकम राम्रा कामको समर्थन गर्न त प्रमुख प्रतिपक्षी दलले पनि सिक्नुपर्छ नि । कि भन्न सक्नुप¥यो यो भएन, त्यो भएन तर नभएको विषयलाई राजनीतिक मुद्दा बनाएर कसैले फुस्रो राजनीति गर्छ भने घाटा उसैलाई हो, सरकार अघि बढिरहन्छ । सामाजिक सुरक्षा भत्ता बढाइएको छ, ५ वर्षसम्म ५ हजार हुन्छ भएन भने त्यति बेला मलाई प्रश्न गर्नुहोला ।

सरकारले अब के गर्नुपर्ला ?
जुन बजेट ल्याएको छ त्यसको कार्यान्वयन हुँदैन कि भन्ने शंका गर्नु नपरोस् । कतै नीतिगत व्यवस्था कमजोर छ भने त्यसलाई कानुन बनाएर सच्याउनुपर्छ । निर्माण व्यवसायीले काम गर्दैनन् भन्ने प्रमुख गुनासो छ, किन काम भएन भनेर सरकार र सरोकारवालाले खोजी गर्नुपर्छ ।

सरकारले संसद्मा दर्ता गरेको गुठी विधेयकको पनि नचाँहिदो विरोध छ कमसेकम केको लागि विरोध गर्दै छु भन्ने त थाहा हुनुपर्छ नि, अरुले पनि गरे मैले पनि त्यसै गरें भनेर त भएन । संसद्मा र संसद्बाहिर मान्छे उचाल्ने काम भएको छ । अरु केही कुरा नभएपछि यही भए पनि बहाना भयो भनेर गरिएको विरोध हो कि जस्तो लाग्छ । २ तिहाइलाई कसैले ‘फु’ गरेर ढाल्छु भन्ने कल्पना गरेको छ भने सम्भव छैन, आजैबाट अर्को सही बाटो छान्नुहोला ।

सरकार कहाँ र कसरी चुक्यो भन्ने खोजी गरेर के साँच्चै नै कतै बाटो बिराएको हो भने त्यसलाई पहिचान गरेर सच्याउनुपर्छ तर त्यस्तो गुनासो गरिहाल्ने बेला भएको छैन ।

सरकारले शान्ति सुरक्षा कायम गर्न सक्नुपर्छ । अझै पनि कतिपय गुनासा आएका छन् त्यसबारे ख्याल गर्नुपर्छ । यो मामिलामा सरकार कठोर र क्रूर नै हुनुपर्छ । म त कानुन पढेको मान्छे, सबैलाई न्याय हुनुपर्छ भन्छु तर मेरो र तेरो मान्छे भनेर छुट्याएर कसैले न्याय पाउँछ र कसैले पाउँदैन भने त्यो मान्य हुँदैन ।

पार्टी एकता भएको एक वर्ष पुगिसकेको छ तर पनि अझै भद्रगोल छ नि खोेई के आशा गर्ने ?
त्यस्तो निराश भइहाल्ने अवस्था भइसकेको छैन । दुई अलगअलग पृष्ठभूमिका पार्टीहरु एकै ठाउँमा आएर एक भएपछि प्राविधिक रुपमा मिलाउन केही समय लाग्यो । बूढीगण्डकी र त्रिशूली नदी पनि मिसिँदा मुग्लिनसम्म आफ्नै लयमा हुन्छन् जब नारायणी पुग्छन् अनि एक हुन्छन् र लाइन प्रस्ट हुन्छ, पानी सङ्लो देख्न पाइन्छ ।

यो पनि यस्तै अवस्था हो हामी अब नारायणीमा पुग्ने क्रममा छौं । कतिपय त वडा कमिटी पनि बनिसकेका छन् तर छिटो गर्नुपर्दथ्यो भन्ने जुन दबाब छ त्यो राम्रो हो । नेता धेरै र पद थोरै भएकाले व्यवस्थापनमा केही समय लाग्यो । तर नेताको भागवण्डा नमिलेर ढिलो भएको भन्ने बजारी हल्लामा सत्यता छैन । अब केही दिनमै केन्द्रीय सदस्यको जिम्मेवारी पनि बाँडफाँड हुन्छ अनि तपाईंले सोचेभन्दा राम्रो ढंगले पार्टीले गति लिन्छ । अलिकति सिनियर र जुनियर भन्ने कुरा पनि आएको छ त्यसलाई पनि विधि बनाएर मिलाउनुपर्छ ।

संसद् हुँदा र नहुँदा के फरक हुँदो रहेछ, अनि के–के काम गर्नुभयो क्षेत्र र जिल्लाका लागि ?
संसद् नहुँदा मसँग जनताको खासै अपेक्षा हुँदो रहेनछ । तर अहिले अपेक्षा गर्नु स्वाभाविक पनि हो । मैले केही बोल्दा र उभिँदा पनि हुन्छ भने पछि हटेको छैन । विकास निर्माण सकेसम्म धेरै होस् भन्ने जनताका अपेक्षा छन् तर मुख्य कुरा स्रोत र साधनको अभाव हो । अब तीनवटै सरकारले विकासमा गति लिनुपर्छ ।

संघीय सरकारलाई प्रदेशले र प्रदेशले स्थानीय तहले सघाउनुपर्छ, एक्लै हिँड्न खोजियो भने लक्ष्यमा पुग्न सकिँदैन । बूढीगण्डकी जलविद्युत् आयोजनाको काम भइरहेको छ, सुरुङमार्गमा प्रशस्त बजेट छुट्टिएको छ । उत्तर–दक्षिण जोड्ने रणनीतिक महत्वका सडक बन्दै छन् र अरु पनि प्रशस्तै योजना छन् जसले धादिङबासीलाई गौरव गर्न लायक बनाउँछ ।

सरकारले तपाईंहरुलाई ६ करोड दियो, १० करोड माग्नुभएको थियो नि किन ? अनि पहिले पाएको ४ करोड कहाँ खर्च गर्नुभयो ?
कसैले कति मागे कसले कति त्यो बेग्लै पाटो हो । हामीले पैसा पाउने होइन तर तपाईंहरुजस्ता मिडियाले पनि गलत भ्रम फिँजाइदिनुभयो । सांसदले नै पैसा गोजीमा हालेर आफूखुसी बाँड्छन् मनपरी गर्छन् भन्ने भ्रम पैदा भयो । स्थानीय तहसम्मको सहकार्यमा आपसी छलफलमा के योजना आवश्यक हुने हो भन्ने टुंगो लगाइन्छ । साँच्चै भन्ने हो भने पैसा त छुनसमेत पाइँदैन । सांसद विकास कोष पनि होइन, यसको नाम स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम हो, यसले त गाउँठाउँको विकास गर्छ ।

बरु कतै यसको दुरुपयोग भएको छ भने त्यसको निगरानी गर्ने कानुन बनाउन माग गर्दछु । सांसदको योजना असफल भयो भने सांसदकै इज्जत जान्छ त्यसैले पनि हामी र सबै सरोकारवाला सचेत हुनु जरुरी छ । अरु कतिपय योजनामा शंका गर्ने ठाउँ छ, कुन योजना कहिले बने कि बनेनन् खवरदारी गरौं, यसमा त्यस्तो अनियमितता हुँदैन किनभने छुट्याएको रकमले काम गरेन भने जनताले पनि ठाडै प्रश्न गर्छन् जवाफ के दिने ?

मलाई दुःख लाग्छ सांसदले पैसा मागेर भनेर बदनाम गर्ने काम भएको छ । कतै सिस्टमको खिलापमा नै योजनाबद्ध ढंगले पो यस्तो कुरा आएको हो कि भनेर अचम्म पनि लाग्छ । के हाम्रो सरकारले गरेको विकास हाम्रो लागि मात्र त होइन नि ? कसले कांग्रेसलाई हामीले बनाएको बाटो नहिँड भन्या छ र ? मैले यसअघिको बजेट सडक, विद्यालय, पुल र अन्य यस्तै सार्वजनिक सरोकारको महत्वपूर्ण ठाउँमा लगाएँ । कतै आफ्नो क्षेत्रमा केही बिग्रियो भने मानिसहरुले सबैभन्दा पहिले भन्ने गर्छन् यो क्षेत्रको सांसद को हो, के गरेको यस्तो ? अनि फेरि उही मान्छे सांसदलाई किन पैसा चाहियो भन्छ त्यसैले बुझिसक्नु छैन यो दुनियाँ ।

तपाईं पहिले एमालेको पनि जिल्ला अध्यक्ष अहिले एकीकृत पार्टीको पनि अध्यक्ष बन्नुभएको छ अब धादिङको नेकपा कस्तो हुन्छ ?
पहिले नै धादिङ बलियो हो अझ मजबुत भएका छौं । मलाई पार्टीले पत्याएर जुन जिम्मेवारी दिएको छ त्यसका लागि पार्टीलाई पनि धन्यवाद दिन्छु । मेरो सीप र क्षमता पार्टीको विकास र समस्याको निकासतिर केन्द्रित रहन्छ । म स्वार्थभन्दा माथि रहेर काम गर्छु, मलाई नपत्याएका भए त निर्वाचनमा पनि मत दिँदैनथे जनताले, यो पनि मेरो लागि काम गर्ने र देखाउने अवसर हो । मेरो भविष्यप्रति मलाई पनि चिन्ता छ । समृद्ध धादिङ सबैको चाहना हो ।

अन्त्यमा विपक्षी पार्टीलाई के भन्नुहुन्छ ?
यो देश नेकपाको मात्र होइन, अहिले सरकार हामीले चलाएका छौं । देश बनाउने काममा सबै लागौं, मतभेद र विवादले कसैको पनि हित गर्दैन । हामीले जसले जे जिम्मा पाएका छौं त्यसको सही प्रयोग गरौं र सधैं इतिहासले सम्झने काम गरौं, यति मात्र गर्न सके पनि पुग्छ ।

प्रतिक्रिया दिनुहोस्