सल्यानको कपुरकोटका मुख्य सडकहरुमा नाला निर्माण हुँदै 



सरिता चलाउने, सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिकाले जीवन रेखाको रुपमा रहेका आफ्नो पालिका भित्रका सडकमा नाला निर्माण गर्न सुरु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाका मुख्य सडकको नाला निर्माण शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

कपुरकोट खाली हुँदै दहवन जोड्ने सडक, कपुरकोट धनवाङ हुँदै फालावाङ जोड्ने सडक र कपुरकोट रिम हुँदै सिनवाङ जोड्ने मुख्य सडकहरु सबै महिना नियमित यातायात सञ्चालन हुन सक्ने बनाउनका लागी नाला अनिवार्य रहेको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताउनु भयो ।

जस अनुसार रोजगारीका लागी आवेदन दिएका ब्यक्तिहरुलाइ ती सडकको मर्मत र नाला निर्माणको लागी परिचालन गरिएको उहाँले बताउनु भयो । कपुरकोटका करिव ३ हजार ब्यक्तिले रोजगारिका लागी निवेदन दिएका दिनुभयो । जस मध्ये पहिलो चरणमा सोमबारबाट दुई सय ७२ ब्यक्तिलाइ रोजगारी दिइएको रोजगार संयोजक समिर डिसीले जानकारि दिनुभयो ।

उनीहरुले कम्तीमा १२ दिन रोजगार पाउने छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको गाउँपालिका अध्यक्ष सेन, उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले वडा नम्बर १, २ र ५ को संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

सरकारले लिएको विकास र समृद्धिको लक्ष्य पूरा गर्ने अभियानमा बेरोजगार युवा युवतीहरु लाग्नुपर्ने स्थानीयले बताएका छन ।

जिल्लाको दार्मा, छत्रेश्वरी गाउँपालिका लगाएतका स्थानिय तहहरुले पनि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्