सिचाई आयोजनाको सार्वजनिक सुनुवाई



हिक्मत नेपाली, दैलेख ।
स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको विषयमा पश्न उठिरहेका बेला दैलेखको एक सिचाई कुलो निर्माण आयोजनाको जवाफदेहिताको औजारको रुपमा हेरिने सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ ।

नारायण नगरपालिका–१० भवानीमा संचालित कालेखोला देखि तौलियासम्मको सिचाई कुलो निर्माण आयोजनाको सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम र नारायण नगरपालिका दैलेखको आर्थीक सहयोगमा संचालित उक्त आयोजनाको सार्वजनिक सुनुवाई गरिएको हो ।

सिचाई कुलो आयोजना आयोजनाको जिम्मा पाएको न्यु कालिका निर्माण सेवा दैलेखको सहयोग, पञ्चकोशी खबरको सहजिकरणमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
भ्याट सहित कुल २८ लाख १२ हजार रुपैयाँको लागतमा संचालित उक्त योजना निर्माणको कार्य सकिएसँगै सार्वजनिक सुनुवाई गरिएको हो ।

जिल्लामा संचालित हुने आयोजनाहरुको सार्वजनिक सुनुवाई कर्मकाण्डी र कागजी रुपमा गरिँदै आएकोमा यो सिचाई आयोजनाले स्थानीय लाभान्वित समुदाय र सरोकारवाला निकायको सहभागितामा सार्वजनिक सुनुवाई गरेको हो ।

सार्वजनिक सुनुवाईमा नारायण नगरपालिका–१० का वडाअध्यक्ष लोकबहादुर थापाले सिचाई आयोजनाको काम गुणस्तरिय भएको बताउनुभयो । गुणस्तरिय काम गर्ने न्यु कालिका निर्माण सेवा दैलेखलाई धन्यवाद दिँदै वडाध्यक्ष सिचाई कुलो संरक्षणको जिम्मेवारी स्थानीय समुदायको भएको बताउनुभयो ।

न्यु कालिका निर्माण सेवाका संचालक कुमार प्याकुरेलले स्थानीय समुदायलाई समेटेर सिचाँई कुलो निर्माण गरिएको बताउनुभयो ।

उहाँले सिचाई कुलोलाई दिगो बनाउन स्थानीय समुदायको अपनत्व हुनुपर्ने बताउनुभयो । आयोजनाबाट २६ घरधुरीका एक सय ६१ जना प्रत्यक्ष लाभान्वित भएका छन् भने ८२ रोपनी खेतीयोग्य जमिन सिचाई हुनेछ ।

प्रतिक्रिया दिनुहोस्