काभ्रेमा पहिरोले पुरिएका ३ जनाको उद्दार



ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे ।

जिल्लाको मण्डनदेउपुर नगरपालिका ७, कुन्तावेसीस्थित थलप्रसाद सापकोटाको घरमा होटल गरि बस्ने ३ जनालाई शनिबार बिहान ३ बजे पहिरोले पुरिएको अवस्थामा स्थानियवासी र प्रहरीको टोलीले उद्दार गरेको छ ।

गएरातीदेखी परेको पानीले स्थानिय शिक्षक नवराज सापकोटाको घर कम्पाउण्ड बाहिरको पर्खाल भत्कीएर होटल भएको घरको गाह्रोसमेत लडेपछि उक्त घटना भएको हो ।

घाइतेहरुको खुट्टा पहिरोले थिचिएको थियो । एकजना महिलाको भने टाउकोमा जस्तापाताले काटेर चोट लागेको छ । घटनामा परि घाइते हुनेहरु नगरकोट नजिक घर भएर कुन्तावेसीमा होटल गरि बस्दै आएका थिए ।

घाइते हुनेमा वीर बहादुर तामाङ्ग , विष्णुमाया तामाङ्ग र ४ वर्षको बालिका रहेकी छिन् । उनीहरु सँगै बस्ने गरेपनि श्रीमान श्रीमती नभई परिवारका सदस्य रहेको बुझिएको छ । घाइते ४ वर्षिय बालिका भने वीर बहादुरकी नातीनी हुन् ।

घाइतेहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको स्थानिय कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुको अवस्था सामान्य रहेको तर समयमै उपचार नपाएको भए ज्यान जान सक्ने अवस्था रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्