एसओएस बालग्रामको स्थापना दिवस, ७० वर्षमा २५ हजार बालबालिकाको अभिभावक



मोतीराम तिमल्सिना, काभ्रे ।

एसओएस बालग्राम नेपालले ७० वर्षको अवधीमा नेपालका २५ हजार बालबालिकाहरुलाई अभिभाकत्व प्रदान गरेको छ । १ सय ३५ वटा मुलुकमा रहेको एसओएस बालग्रामहरुमा ४० लाख बालबालिकाहरुले अभिभाकत्व ग्रहण गरेका छन् ।

स्थापना दिवसको ७० औ बर्ष तथा एसओएस बालग्राम अन्तराष्ट्रियका संस्थापक प्रा.डा. हर्मन माईनरको १०० औ जन्मजयन्तिको अवसर र ३३ औ एसओएस अन्तराष्ट्रिय दिवसको अवसर पारी एसओएस बालग्राम काभ्रेमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष डा. ज्योतीरत्न धाख्वाले विश्वभर रहेका एसओएस बालग्राममा अभिभाकत्व गुमाएका, द्वन्द्व पीडित तथा सिमान्तकृत समुदायका बालबालिकाहरुको अभिभावक बन्न सकेको बताउनु भयो ।

‘नेपालमा पनि एसओएस बालग्राम बालबालिकाहरुको अभिभावक बन्न सफल भएकोे छ, सन् २०३० सम्ममा २५ हजार बालबालिकाको अभिभावकबाट दोब्बर ५० हजार बालबालिकाहरुकोमा पुग्ने लक्ष्य राखेको छ’–उहाँले भन्नुभयो–‘सबै क्षेत्रका सहयोग र उत्साहले अभिभावकत्व ग्रहण गर्दै समुदायमा पुर्नस्थापना गर्ने तथा आत्मनिर्भर बनाउने अभियानमा छौं ।’

राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माले एसओएस बालग्राममा रहेका ९० प्रतिशत बालबालिकाहरुको परिवार उत्कृष्ट रहेको अनुसन्धानले देखाएको बताउनु भयो ।

‘६० प्रतिशत बालबालिकाहरु शिक्षा र सिपमा उत्कृष्ट छन्’–उहाँले भन्नु भयो–‘समाजमा स्थापित भई योग्य नागरिक बन्ने अभियानमा एसओएस बालग्रामका ८० प्रतिशत बालबालिकाहरु सक्षम भएका छन् ।’ आधारभुत आवश्यकता पुरा गर्न सक्ने ९० प्रतिशत बालबालिकाहरुको तथ्याङ्कमा मात्रै सन्तुष्ट नभई शतप्रतिशत पु¥याउने अभियानमा रहेको बताउनु भयो ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले ३० वर्षको उमेरमा संसार बदल्ने अठोट लिने हर्मन माईनरको सन्देश सबै ब्यक्तिले समाज र राष्ट्र बदल्न केहि न केहि गर्नु पर्छ भन्ने भएकाले एसओएस बालग्रामबाट उत्पादन भएका बालबालिकाहरुले त्यो लक्ष्य लिनु पर्ने बताउनु भयो ।

नगरपालिकाले बालमैत्री, अपाङ्गमैत्री, बालश्रममुक्त नगर बनाउने अभियान शुरु गरेको बताउँदै नगर प्रमुख ब्याञ्जुले बालबालिकाप्रति जिम्मेवार अभिभावक बन्न स्थानीय सरकारले ऐन, कानुन निर्माण र कार्यान्वयन गरिरहेको बताउनु भयो ।

बालग्राम निर्देशक सुरेन्द्र अमगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्तरीय हाजिरिजवाफ प्रतियोगिता र चित्रकला प्रतियोगितामा विजयी विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

हाजिरिजवाफ प्रतियोगितामा सेन्टलम एकेडेमी प्रथम, पनौती बोर्डिङ्ग स्कुल दोश्रो र कुशादेवी मावी तेश्रो भएका थिए भने चित्रकला प्रतियोगितामा बेलर इन्टरनेशनल प्रथम, नेपाल प्रहरी स्कुलका विद्यार्थीहरु दोश्रो र तेश्रो भएका थिए । सोहि अवसरमा बालग्रामले विभिन्न समयमा सहयोग गर्ने बनेपा, धुलिखेल, पनौती नगरपालिका, अपाङ्ग अस्पताल, ट्याबी इन्सकिल्डा जिम्नेजियम, स्विडेनलाई सम्मान गरेको थियो भने शिक्षक डा. श्यामप्रसाद भट्टराईलाई निरन्तर २५ वर्ष सेवा गरेको अवसरमा सम्मान गरेको थियो ।

विद्यालयका प्रिन्सिपल नरेश्वर आचार्यले विद्यालयको शैक्षिक अवस्थाका बारेमा जानकारी गराउँदै बालग्राममा रहेका दाताहरु र बालग्रामको उदेश्यका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, बनेपा नगरपालिका बरिष्ठ राजश्व अधिकृत ध्रुर्व नेपाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, बालग्रामका तालिम निर्देशक उदय अर्याल, बालकल्याण समितिका रामकुमार मुल्मी, अपाङ्ग बाल अस्पतालका प्रल्हाद पराजुली, बालग्रामका युवा समितिका नरेशशंकर प्रधानाङ्ग, शिक्षिका देवकुमारी लुईटेल लगायतले बालग्रामका सन्दर्भमा आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्