अरुको मुख बन्द गराउन खोजे आफै समाप्त हुनेः नेता नेपाल



पुष्कर बुढाथोकी, भक्तपुर,(नेस) ।

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार बिकासको मार्गमा अघि बढेको बताउनुभएको छ । आज भक्तपुरको सृजनानगरमा श्रमजीवी महिला तथा बाल कल्याण परिषदले सञ्चालन गरेको भ्याली हेल्थ एण्ड रिसर्च सेन्टरको १६ औं वार्षिकोत्सवको अवसरमा नेता नेपालले सो कुरा बताउनुभएको हो ।

नेता नेपालले सरकार विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्दै जुनसुकै क्षेत्रको सूचना प्रवाह र जनचेतना फैलाउन अग्रसर रहेको बताउनुभयो । उहाँले स्वास्थ्य, कृषि, वातावरण, शिक्षा, उत्पादन, बजारीकरण जस्ता क्षेत्रको बिकासमा सरकार अग्रसर रहेको बताउनुभयो ।

नेता नेपालले दलहरुले अधिनायकवादको संस्कार त्याग्नुपर्नेमा जोड दिंदै अन्य दललाई पनि उत्तिकै सम्मान गरे मात्र पार्टी दिगो रहने बताउनुभयो।बिशेषगरी उहाँले नेपाल मजदुर किसान पार्टीलाई अधिनायकवादको संस्कार त्याग्न आग्रह गर्नुभयो ।

नेपालले नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलाई अधिनायकवादको संस्कार कार्यकर्तालाई नदिन आग्रह गर्दै अहंकार, दमनकारी, दास प्रवृत्तिले हुर्किँदै गए त्यसको परिणाम विस्थापन नै हो भन्नुभयो। त्यसैले सहकार्य र संवाद र समन्वयको मार्गमा अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

आफ्ना प्रतिपक्षलाई पनि उत्तिकै सम्मान गरे मात्र आफ्नो पार्टी दिगो रहने बताउँदै उहाँले एकाधिकार कायम गर्ने, दम्भको घोडामा हिँड्ने र अरुको मुख बन्द गराउन खोजे आफै समाप्त हुने धारणा राख्नुभयो ।

धुँवा, धुलो, पानी, खानेकुरा, तेल, तरकारी जुनसुकै क्षेत्रमा पनि स्वाथ्यलाई हानी पुर्याउने तत्वहरु रहेको बताउँदै उहाँले अहिले प्रत्येक मानिस पाइलै पिच्छे रोग कुल्चेर हिँडिरहेको र रोगबाट बच्न सजग रहन जोड दिनुभयो ।

कार्यक्रममा सुर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेब थापालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्