‘कांग्रेस अलोकतान्त्रिक शक्तिको बहकाउमा’



नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक शक्तिको बहकाउमा नेपाली कांग्रेस लागेको आरोप लगाउनुभएको छ।

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले विगतमा पटकपटक लडेर ल्याएको लोकतन्त्रलाई भड्काउने र बिथोल्ने काम भएको स्मरण गराउँदै फेरि पनि भड्काउमा नपर्न कांग्रेसलाई आग्रह गर्नुभएको हो। उहाँले लोकतन्त्रका विरुद्ध अलोकतान्त्रिक शक्तिहरूको मोर्चाबन्दी भएको र त्यो शक्ति लोकतन्त्रलाई बिथोल्न लागिपरेको पनि बताउनुभयो।

लोकतान्त्रिक शक्ति नै अलोकतान्त्रिक शक्तिको मोर्चाबन्दीमा परेको देख्दा आफूलाई आश्चर्य लागेको भन्दै प्रधानमन्त्री ओलीले सानातिना विषयमा माइतीघर मण्डला पुग्ने प्रवृत्ति त्यागेर जनताले प्राप्त गरेका उपलब्धिलाई रक्षा गर्ने काममा ध्यान केन्द्रीत गर्न सबैलाई आव्हान गर्नुभयो। ठूलो बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको भन्दै उहाँले सरकार राष्ट्रिय हित र स्वभिमानप्रति दृढ रहेको प्रष्ट पार्नुभयो। उहाँले समृद्धिको कामलाई सरकारले अघि बढाउने भयो भनेर केही तत्वहरू आत्तिएको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफूलाई संसद्मा बोल्न नदिएर अत्यन्तै असंसदीय तथा अमर्यादित व्यवहार देखाएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठक नै अवरुद्ध पारेर कांग्रेसले बोल्न नदिएकोमा आफू आश्चर्यचकित भएको प्रतिक्रिया पनि दिनुभयो। उहाँले प्रधानमन्त्रीलाई बोल्न नदिने काम कांग्रेसले गरेको भन्दै आलोचना गर्नुभयो। उहाँले प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने लोकतन्त्रमा कहीँ नहुने व्यवहार कांग्रेसले प्रदर्शन गरेको भन्दै आपत्ति जनाउनुभयो।

प्रधानमन्त्री ओलीले दुनियाँको लोकतान्त्रिक अभ्यासमा, संसदीय प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेको बेला संसद्लाई विभिन्न विषयमा सरकारका दृष्टिकोणबारे जानकारी गराउने अभ्यास हुने भन्दै कांग्रेस भने त्यसको विपक्षमा उभिएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘राजनीतिक शक्तिहरूलाई म आग्रह गर्न चाहन्छु, पटकपटक जनताका अधिकार दरबार बुझाइएका इतिहास छन्, आवेश, उत्तेजना र भावनामा बगेर नदोहोर्याऊँ। ’
ठूलो बलिदानी र लडाई संघर्ष गरेर प्राप्त गरेको सफलता र आन्दोलनबाटै आएको नेतृत्व सरकारमा रहेको भन्दै उहाँले लोकतन्त्रको पछाडि बसेर उत्तेजित पार्न खोज्ने तत्वबाट सजग हुन आग्रह गर्नुभयो। उहाँले लोकतन्त्रका विरुद्ध अलोकतान्त्रिक शक्तिहरूको मोर्चाबन्दी भएको र त्यो शक्ति लोकतन्त्रलाई बिथोल्न लागिपरेको बताउनुभयो। उहाँले लोकतान्त्रिक शक्ति नै अलोकतान्त्रिक शक्तिको मोर्चाबन्दीमा परेको देख्दा आफूलाई आश्चर्य लागेको बताउनुभयो।

ठूलो बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको भन्दै उहाँले सरकार राष्ट्रिय हित र स्वभिमानप्रति दृढ रहेको बताउनुभयो। ओलीले सरकारको नेतृत्व गरेको पार्टी लोकतन्त्र र लोकतान्त्रिक प्रणालीप्रति प्रतिबद्ध रहनुको साथै प्रेस स्वतन्त्रता, मानवअधिकारप्रति प्रतिबद्ध रहँदै बहुआयामिक पक्षमा ध्यान दिएर अघि बढिरहेको स्पष्ट पार्नुभयो। सामाजिक न्याय र समानतामा जोड दिँदै शान्ति, स्थिरता र स्थायित्वको पक्षमा सरकार रहेको उहाँले उल्लेख गर्नुभयो।

संसद् अवरोधबारे

उहाँले कांग्रेसले संसद्मा अत्यन्तै असंसदीय, अमर्यादित व्यवहार देखाएको आरोप लगाउनुभयो। संसदीय प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेको बेला संसदलाई विभिन्न विषयहरूमा सरकारका दृष्टिकोण, निर्णयहरू र गतिविधिबारे जानकारी गराउने अन्तर्राष्ट्रिय अभ्यास रहेको भन्दै उहाँले कांग्रेसले त्यसमा अवरोध पुर्याएर अमर्यादित काम गरेको टिप्पणी गर्नुभयो।

उहाँले भन्नुभयो– ‘प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा र प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने कुरा लोकतन्त्रमा कहीं पनि हुँदैन। तर आश्चर्यलाग्दो कुरा प्रधानमन्त्रीका लागि तय भएको समयमा आफूले बोल्न पाउनुपर्छ भनेर बेलमा गएर संसद्को कारबाहीलाई अवरोध गरियो, लोकतान्त्रिक अभ्यासमा पहिला प्रधानमन्त्रीले, त्यसपछि विपक्षी दलका नेताले र त्यसपछि वरीयता क्रममा बोल्ने प्रचलन अन्तर्राष्ट्रिय हो।’

गुठी विधेयकबारे

गुठी विधेयकका सम्बन्धमा उल्टो र भ्रमपूर्ण प्रचार गरिएको उहाँले बताउनुभयो। आफू देश बाहिर भएको बेला गुठीसम्बन्धी विधेयकलाई लिएर तनाव फैलाउने काम भएको टिप्पणी गर्नुभयो।
गुठीलाई व्यवस्थित पार्ने सम्बन्धमा विभिन्न समयमा प्रयास गरिएको भए पनि अहिलेसम्म सही ढंगले व्यवस्थापन गर्न नसकिएकाले विधेयकमार्फत् प्राधिकरणका रूपमा लैजानका लागि सरकारले प्रयास गरेको उहाँले स्पष्ट पार्नुभयो। विधेयकका बारेमा भ्रमपूर्ण वातावरण सिर्जना गरेर त्यसभित्र लोकतन्त्र विरोधी शक्ति घुसेर लोकतन्त्रका जरा काट्ने कैचीहरू देखिएपछि विभागीय मन्त्रीले विधेयक फिर्ता लिने निर्णय गर्नुभएको भन्दै उहाँले सो निर्णयको समर्थन गर्नुभयो।

प्रधानमन्त्री ओलीले नेपाली भाषा, सभ्यता, शैली र संस्कृतिका विषयमा संवेदनशील हुन सञ्चार क्षेत्रलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो– ‘सञ्चारक्षेत्र संक्रमणकालीन अवस्थामा छ, सामाजिक मूल्य, मान्यता, मर्यादा र भाषा हेर्ने हो भने हाम्रो टेलिभिजनले तपार्इं भन्न कसैलाई नै जान्दैन, तपाईं भन्ने शब्द नै हराइसक्यो।’

संसद्मा बोल्न नपाएपछि प्रधानमन्त्री ओलीले सिंहदरबारमा पत्रकार सम्मेलन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्