सदनमा सत्तापक्ष र प्रमुख प्रतिपक्षको कच्चा खेल, पहिले को बोल्ने भन्ने विवादले बैठकै भाँडियो



गंगा बराल, काठमाडौं ।
को पहिले बोल्ने भन्ने विवादले प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पहिले बोल्ने कि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बोल्ने भन्ने विषयको विवादले प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएको हो। प्रधानमन्त्री बोल्नका लागि रोस्ट्रममा गएपछि कांग्रेसले आफूले पहिले बोल्न पाउनुपर्ने भन्दै रोस्ट्रम घेराउ गरेको थियो। युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले बोल्ने भन्ने सोमबार नै टुंगो लागेको थियो। तर मंगलबार बैठक शुरु हुनुभन्दा पहिले बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले पहिले आफूले बोल्न पाउनुपर्ने प्रस्ताव गरेको थियो।

बैठकमा के गर्ने भन्ने टुंगो नलागेपछि जे होस् भनेर संसद् बैठक बसेको सचिवालयले जनाएको छ। नेता देउवाले संसद् प्रतिपक्षीको हो भन्ने अन्तर्राष्ट्रिय मान्यता नै भएकाले आफूले पहिले बोल्न पाउनुपर्ने र प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने बताउनुभयो।

दुवै पक्ष गैरजिम्मेवार
डा.बाबुराम भट्टराई

                                        दबाउने प्रयास भए सडक संघर्ष
सुरेन्द्रराज    पाण्डे

इतिहासकै निन्दनीय घटना
योगेश भट्टराई

 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ता पक्ष र प्रतिपक्ष दुवै गैरजिम्मेवार भएको टिप्पणी गर्नुभएको छ। प्रतिनिधिसभा जनताको हितमा सर्वोत्तम अभ्यास गर्ने थलो भएकाले प्रक्रियागत रूपमा कसले अगाडि बोल्ने भन्ने विषयमा बैठक अवरुद्ध गर्दा जनताको अभिमतको दुरूपयोग भएको भन्दै घटनाको भत्र्सना गर्नुभयो। ‘म यो घटनालाई दुवै पक्षको गैरजिम्मेवार व्यवहार ठान्दछु, प्रक्रियागत रूपमा कसले अगाडि बोल्ने र कसले पछाडि बोल्ने भन्ने विषयमा बहुमूल्य समय खेल फाल्नु जनताको अभिमतको दुरूपयोग हो, मचाहिँ यसको तीव्र भत्र्सना गर्दछु’ –उहाँले भन्नुभयो।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेशकुमार भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएकोमा आपत्ति जनाउनुभएको छ। सांसद भट्टराईले प्रधानमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले संसदीय व्यवस्थामाथि नै धावा बोलेको दाबीसमेत गर्नुभयो। उहाँले आफूलाई संसदीय व्यवस्थाको पर्यायवाची ठान्ने कांग्रेसले प्रधानमन्त्रीलाई संसद्मा बोल्न नदिएको यो घटना संसदीय इतिहासकै निन्दनीय घटना भएको प्रतिक्रिया पनि दिनुभयो।

राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संसद्मा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्न नहुने बताउनुभयो। संसद् भवनमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले विपक्षी दलले समय मागेपछि उपलब्ध गराइनुपर्ने बताउनुभएको हो।

प्रमुख प्रतिपक्षी दलले ढ्यापढ्याप गरिसकेपछि सभामुखले उसको कुरा सुन्नुपर्ने तर्क उहाँले गर्नुभयो। संसद्मा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्नु नहुने भन्दै उहाँले संसद् सधै ‘प्रतिपक्षी दलको हो’ भन्ने मान्यतालाई पनि नबिर्सन आग्रह गर्नुभयो। ‘प्रतिपक्षीले ढ्यापढ्याप गरेपछि किन ढ्यापढ्याप गरे भनेर त्यो कुरा सभामुखले सुन्नुपथ्र्यो, नसुनेको कारणले गर्दा संसद्को अवस्था यस्तो भयो, रोस्ट्रम घेरियो, बैठक स्थगित पनि भो, प्रधानमन्त्रीले मात्रै बोल्ने संसदीय अभ्यास होइन’, कर्णले भन्नुभयो– ‘कुनैबेला सभामुख दमननाथ ढुंगानाले संसद् प्रतिपक्षीको हो भन्ने पनि रुलिङ गरेका थिए, त्यसलाई पनि हामीले आफ्नो परम्पराका रूपमा लिनुपर्छ, बोलिसकेपछि के हो त्यो जवाफ दिने सयम प्रधानमन्त्रीलाई छँदै थियो नि, प्रतिपक्षीको आवाजलाई कुण्ठित गर्नुहुँदैन।’

सत्तारुढ दल नेकपाका राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले सरकारले ल्याएको गुठी विधेयकको बचाउ गर्नुभएको थियो।उहाँले कांग्रेसले विधेयकलाई सडकमा पुर्याएको भन्दै आपत्ति पनि जनाउनुभयो।

मंगलबार राष्ट्रिय सभाको बैठकको सुरुमै विशेष समय लिएर बोल्दै नेता शर्माले लोकतन्त्रवादी शक्तिहरूबीच संवाद गरेर सो विधेयक टुंगो लगाउनुपर्नेमा सडकमा वितण्डा मच्चाउने काम भएको भन्दै कांग्रेसप्रति आक्रोश व्यक्त गर्नुभयो। नेता शर्माले संविधानसम्मत ढंगले सो विधेयकमाथि छलफल गर्नुपर्ने बेलामा सदन अवरुद्ध पार्ने, सडकमा अराजकता मच्चाउने काम लोकतन्त्रवादीहरूका लागि शोभनीय नभएको पनि बताउनुभयो।

राष्ट्रियसभाका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सदनमा प्रतिपक्षी दलको आवाज दबाउने प्रयास गरे सडक संघर्ष चर्कने चेतावनी दिनुभएको छ। राष्ट्रियसभाको मंगलबारको बैठकमा नेता पाण्डेले सदनमा प्रतिपक्षी दलको मुख थुन्ने काम गरिए त्यो सडकमा गएर पोखिने चेतावनी दिनुभएको हो।

सत्तारुढ दल नेकपाका नेता दिनानाथ शर्माले प्रतिपक्षी दलले संसदीय मर्यादाविपरीत प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई बोल्न नदिएको आरोप लगाएपछि नेता पाण्डेले प्रतिपक्षी दलको मुख थुन्ने प्रयत्न नगर्न चेतावनी दिनुभएको हो। संसदीय मूल्य मान्यताका बारेमा कसैले कांग्रेसलाई सिकाउनु नपर्ने भन्दै उहाँले विगतमा संसद्मा कम्युनिस्ट पार्टीले गरेका गलत गतिविधिको स्मरणसमेत गराउनुभएको थियो। उहाँले सरकारलाई संयमित भएर संविधान अध्ययन गर्नसमेत सुझाव दिनुभयो।

प्रतिनिधिसभाको अर्को बैठक बुधबार ११ बजे बस्नेछ। संसद्मा विनियोजन विधेयकमाथि छलफल भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्