भारतीय जादुगर मरेको आशंका



नयाँदिल्ली, (एजेन्सी)

विश्वका चर्चित जादुगर ह्यारी हाउडिनीको देखासिकी गर्दै शरीर सिक्रीले बाँधेर नदीमा हाम फाल्ने एकजना भारतीय जादुगरको मृत्यु भएको आशंका गरिएको छ।

पश्चिम बंगाल राज्यको हुग्ली नदीमा त्यसरी हाम फालेका चन्चल लाहीरी नामक ती जादुगर सिक्री फुकालेर पौडिँदै सुरक्षित ढंगले निस्कन असफल भएको सञ्चार माध्यमले जनाएको छ।

उनको कमाल हेर्न आइतबार जम्मा भएका दर्शकहरूले उनी लामो समयसम्म पनि पानीबाहिर नआएपछि प्रहरीलाई सूचित गरेका थिए। प्रहरीले अझै पनि नदीमा उनको खोजी गरिरहेका छन्।

म्यान्ड्रेकको उपनामले पनि चिनिने लाहिरीलाई एउटा डुंंगाबाट नदीमा ओरालिएको थियो। दुईवटा डुंगामा बसेर हेर्ने दर्शकहरूका अनुसार उनका हात खुट्टा बाँधिएका फलामको सिक्रीमा छ वटा ताल्चा मारिएका थिए। उनको कमाल हेर्न कोलकाताको चर्चित हावडा पुलमा पनि थुप्रै मान्छेको भिड लागेको थियो।

एकजना प्रहरी अधिकारीले लाहिरीको शव फेला नपरुन्जेल उनलाई मृत घोषित गर्न नमिल्ने दी हिन्दूस्तान टाइम्सलाई बताएका छन्। लाहिरीले सो चमत्कार देखाउनुअघि एकजना पत्रकारलाई यदि आफू सफल भइयो भने म्याजिक नत्र भने ट्रयाजिक घटना घट्ने बताएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्