रुपन्देहीको तिलोत्तमा नगरमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ ।

आईतवार नगरपालिकाको परिसरमा एक कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात गरिएको हो ।

कार्यक्रममा नेकपाका नेता तथा प्रतिनिधि सभाका सदस्य छबिलाल बिश्वकर्माले कार्यक्रमका लागि छनौट भएका २ जनालाई निर्माण तथा सरसफाईका औजार हस्तान्तरण गर्नु भयो ।
यस कार्यक्रमका लागि तिलोत्तमा नगरपालिकाबाट पहिलो चरणमा ३ सय १६ जना छनौट भएका छन ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री बिश्वकमाले राष्ट निर्माणको अभियान शुरु भएको बताउनु भयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले समृद्धिको अभियानमा टेवा पुराउने धारणा समेत उहाँले बताउनु भयो ।

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तिलोत्तमा नगरपालिकालाई ७० लाख रुपैया उपलब्ध गराएको छ ।
मन्त्रालयबाट प्राप्त रोजगार कार्यक्रमको रकम आबेदन फारम भरी छनौट भएका मध्यबाट पनि छनौट गरी तोकिएको मापदण्डका आधारमा बेरोजगार युवालाई न्यूनतम ३० दिनको रोजगारी उपलब्ध गराइने छ ।

छनौट भएका बेरोजगार युवायुवतीलाई सडक निर्माण तथा मर्मत,कृषि तथा सिंचाई,गार्मेण्ट, खानेपानी,स्वास्थ्य तथा सरसफाई, शिक्षा, वन तथा जलाधार र पर्यटन क्षेत्रमा काममा लगाउन मन्त्रालयले निर्देशन दिए अनुसार बिभिन्न क्षेत्रमा काममा लगाइने छ ।

तिलोत्तमा नगरपालिकामा बेरोजगार भई यस कार्यक्रममा सहभागि हुन १ हजार २८ जनाले आवेदन भरेकामा ७ सय ७२ जनाको मात्र रित पुगेको थियो । ति मध्येबाट ३ सय १६ जना छनौट गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताउनु भयो ।

नगरपालिकाका कार्यवाहक प्रमुख जागेश्वरदेबि चौधरीको अध्यक्षता, प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको कार्यक्रममा नेकपाका तिलोत्तमा नगरअध्यक्ष मोहन चापागाई, काग्रेसका नगर सभापति हरिलाल पाण्डे, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, तिलोत्तमा चेम्वर अफ कमर्शका अध्यक्ष जेपी कडेल लगायतले देश निर्माणमा टेवा पुराउने र वैदेशिक रोजगारमा जानवाट रोक्न योगदान दिने धारणा राख्नु भयो ।

आईतवार पहिलो दिन छनौट भएकाहरुले शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र र गौशालामा बिभिन्न काम गर्नेछन ।सोमवार देखि जुनवाडवाट छनौट भएका छन सोही वडामा काम गर्ने गरि नगरपालिकाले व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्