कविता: नझुल्केको घाम



– कल्पना काफ्ले

सृष्टिको आदिमकालदेखि
माथिबाटै झुल्किन्थ्यो घाम
भिजाएर धर्ती
माथिबाटै पथ्र्यो शीतल पानी
छरेर उज्याला बैजनी रंगहरु
गाउँथे समानताका गीत
र, पोखिदिन्थ्यो रंगहरुको इन्द्रेणी पानीमा ।
म चोबलिन्थें पसिनाको सरोवरमा चुर्लुम्म
जबरजस्ती फलाम पिटेर घनले
हँसिया कोदाली र फाली बनाउँदै
चुल्हाको चुलेसीमा धार लगाउँदै
तिम्रो दैनिकी चलाइदिन
तिमीलाई दिएर मेरो अमूल्य समय
तिमी घट्घट् पिउँथ्यौ मेरो श्रमका पसिना
र मेटाउँथ्यौ अतृप्त प्यास ।
मेरो औंलाको चक्र छाप
कुनै शिल्पीले कुँदेका बुट्टाहरु
तिमीले काटेको स्याउहरुमा हुन्थे
नास्पतीहरुमा हुन्थे
र, तिमी त्यही टुक्राहरुलाई
भगवान् भनाउँदो ढुंगाहरुलाई चढाउँथ्यौ ।
पानीका मुहानमा पानी छताछुल्ल भएर बग्दा
पिपिरीको पातले दुना बनाएर
तिमीले रित्तो गाग्री भरिरहँदा
लाग्थ्यो त्यो गाग्रीमा तप्–तप्–तप्
मरो आँसु झरिरहेको छ, पसिना चुहिरहेको छ ।
मैले बनाएको औजारले
बाँस कपेर धारो बनाएको पानी
तिम्रा कुल देवतालाई चढाउने गंगाजल बन्यो ।
मानिसको सृष्टि दुई कोखबाट हुन्छ
सृष्टिको कालखण्डमा भगवान्ले
एउटा लोग्ने मान्छे र अर्को आइमाई मान्छे बनायो
र, आइमाईको कोखबाट तिमी जन्मियौ ।
वेदका ऋचाहरु र पुराणका पर्वहरुमा
कतै उल्लेख छैन म अछूत जन्मेको कथा
सबै आइमाईको कोख उघारेर जन्मिए
तर म त,
बाबुको गर्भको च्यादर च्यातेर
फुत्त धर्तीमा आएको मान्छे हुँ ।
कसैले मलाई छुनु हुँदैन
कहीँ कतै मैले छोएको पानी चल्दैन
मैले छोएको फूलपाती
तिम्रो भगवान्लाई चढाउनु हुँदैन
म पढ्ने विद्यालयमा तिमी पढ्नु हुँदैन ।
तिम्रा लागि घाम अलग्गै लाग्नुपर्छ,
पानी अलग्गै बग्नुपर्छ
सोच्छु, के तिमी र मबीच हिँड्ने बाटो फरक छ ?
के म उभिएको आँगन फरक छ ?
माटो फरक छ ?

प्रतिक्रिया दिनुहोस्