धुलिखेलको वडा नम्वर १० बालमैत्री वडा घोषणा



मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल नगरपालिका वडा नम्वर १० शारदाबतासेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले बालमैत्री वडा घोषणा गर्नु भएको छ । उक्त वडा जिल्लाको दोश्रो र प्रदेश अन्र्तगतको तेश्रो वडा हो ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले सन् २०२० भित्र नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्दै वातावरण, महिला हिंसा रहित, सुकुम्बासी मुक्त, बालश्रम मुक्त नगर बनाउने अभियान शुरु गरेको बताउनु भयो ।

‘भौतिक पूर्वाधारको विकाससँगै मानविय विकासका लागि आवश्य पर्ने सबै सुचकाकंहरुलाई पुरा गर्न आवश्यक कार्यक्रम सहितको बजेट ब्यवस्थापन गरिएको छ’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘नेपालकै नमुना नगरपालिका बनाउने उदेश्य अनुरुप महिला तथा बालबालिका सम्वन्धी काउन्सिल समेत गठन गरिएको छ ।’ विकासका हरेक पाटाहरुमा आयआर्जनसँगै सामाजिक न्याय र बलियो नागरिक तयार गर्न आवश्यक पर्ने पूर्वाधार निर्माण गरेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

मन्त्री थममाया थापा मगरले देशको भविश्यसँग जोडिएका बालबालिकाहरुको क्षेत्रमा लगानी गर्न स्थानीय सरकारलाई अनुरोध गर्नु भयो । बालबालिकाहरुको आधारभुत आवश्यकतालाई पुरा गर्न स्थानीय सरकारले प्राथमिकतामा राख्नु पर्ने कुरामा जोड दिदै मन्त्री थापा मगरले प्रत्येक घरलाई महिला, बालबालिका र जेष्ठ नागरिक मैत्री बनाउनु पर्नै बताउनु भयो ।

जेष्ठ नागरिकहरुलाई दिवाश्रमको ब्यवस्थापन र संरचना सहित वातावरण महिला र बालबालिका मैत्री बनाउन सरकारले विभिन्न कार्यक्रम शुरु गरेको र बजेट, नीति तथा कार्यक्रमबाट जनताको न्याय र समानताका लागि काम गर्नु पर्नेमा जोड दिनु भयो । विकाससँगै सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गर्न स्थानीय सरकारलाई निर्देशन दिनु भयो ।

्बालबालिका सम्वन्धी विभिन्न बुँदाहरुका साथै ३९ बुँदे मापदण्ड पुरा गरेपछि बालमैत्री वडा घोषणा गर्न मिल्ने भएकाले नगरपालिका प्रमुख अशोक ब्याञ्जुले नगरपालिकाका सबै वडाहरुलाई बालमैत्री घोषणाका लागि आधारभुत पुर्वाधारहरु तयार गरिरहेको बताउनु भयो ।

हरेक वडामा बालमैत्री पार्क निर्माण, विद्यालय तथा अन्य संरचनाहरु निर्माणमा बालमैत्री, निर्णय र प्रकृयामा बालबालिकाहरुको सहभागिता, बालविवाहको अन्त्य, बाल श्रमिकको अन्त्य लगायतमा नगरपालिकाले सबै वडाहरुमा ध्यान दिएको बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख मञ्जु गौतम, नगरपालिका उपप्रमुख विमला शर्मा, वडा अध्यक्ष पुष्प राउत, बाल क्लव सञ्जालकी सचिव यमुना तिमल्सिना, जिल्ला अध्यक्ष रञ्जन पौड्याल, बाल सञ्जाल वडा अध्यक्ष अञ्जना विक लगायतले वडालाई बालमैत्री बनाउन विभिन्न क्षेत्रको सहयोग निरन्तर आवश्यक रहेको बताउनु भएको थियो । सोहि अवसरमा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्