काठमाडौँ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको आसन्न युरोप भ्रमण नेपालको युरोपेली मुलुकसँगको सम्बन्ध थप सुदृढ बनाउने तथा नेपालले अहिले लिइरहेको बाटोबारे मित्र राष्ट्रलाई अवगत गराउने उद्देश्यमा केन्द्रित रहने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको स्विट्जरल्याण्डको जेनेभामा हुने अन्तरराष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी सम्मेलनमा सहभागिता तथा संयुक्त अधिराज्य र फ्रान्सको औपचारिक भ्रमण नेपालको परराष्ट्र सम्बन्ध तथा अन्तरराष्ट्रिय मञ्चमा महत्वपूर्ण सहकार्यको अवसर भएको बताउनुभयो ।
मन्त्री ज्ञवालीका अनुसार प्रधानमन्त्रीले जेनेभामा अन्तरराष्ट्रिय श्रम सङ्गठन९आइएलओ०को बैठकलाई गर्ने सम्बोधनमा नेपालको सो सङ्गठनसँगको सम्बन्ध र ऐक्यबद्धता तथा नेपालजस्ता अल्पविकसित राष्ट्रले श्रम सम्बन्धमा बेहोर्नुपरिरहेको चुनौती एवं नेपालले नयाँ संविधानअन्तर्गत श्रम सम्बन्धमा अपनाएका सामाजिक सुरक्षाका कार्यक्रमसहितका विषयलाई उठाउनुहुनेछ ।
जेनेभा बैठकमा विश्वका ४५ जति देशका सरकार तथा राष्ट्रप्रमुखको सहभागिता रहने जनाइएको छ । कतिपय नेतासँग प्रधानमन्त्रीको भेटवार्ताको तयारी भइरहेको छ ।
बेलायत र फ्रान्स दुवै नेपालका पुराना मित्र रहिआएका र ती दुई राष्ट्रमा हुन लागेको उच्चस्तरीय औपचारिक भ्रमणले नेपालको सम्बन्धलाई अझ सुदृढ पार्ने अपेक्षा गरिएको छ । परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको भ्रमण आपसी सम्बन्ध अझै विकसित गर्न तथा नेपालले हासिल गरेका उपलब्धिको परिप्रेक्ष्यमा ती राष्ट्रबाट सहयोगका नयाँ क्षेत्र, खासगरी लगानी तथा व्यापार प्रवद्र्धनमा नेपालले आफ्नो प्रयासलाई अघि बढाउन केन्द्रित हुने जानकारी दिनुभयो ।
रासस











प्रतिक्रिया