हिक्मत नेपाली, सुर्खेत ।
हुन त सुर्खेतको विरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । तर विरेन्द्रनगर बजार छेउमै रहेको विरेन्द्रनगर नगरपालिका वडा नं. १ का अधिकाँश स्कुले बालबालिका आर्थिकस्तर न्यून भएका परिवारका छन् । दलित समुदाय मात्र होइन ग्रैह दलितहरु पनि आर्थीक रुपमा विपन्न छन् । यहाँका अधिकाँश विद्यार्थीलाई बर्षभरी पुग्ने कापी, कलम र झोलाको जोहो गर्नै मुस्किल पर्छ । तर तीनै विद्यार्थी विद्यालयमा जेहेनदार पनि छन् । तीनै विद्यार्थीलाई बिहिवार एक सामाजिक संस्थाले शैक्षिक सामग्री वितरण गरेको छ । विकास, सशक्तिकरण र सचेतनाका लागि लगानी (आइडिया) नेपालले यहाँका २५ जना दलित, गरिब, जेहेनदार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
विद्यार्थीलाई झोला, कापी, कलम तथा खेलकुदका सामग्री वितरण गरिएको आइडिया नेपालका सदस्य सजना सुनारले बताउनुभयो । उहाँका अनुसार यहाँकोे त्रिपुरेश्वर मावीका ५, लिपमाला प्राविका ५, नेपाल राष्ट्रिय आधारभुत विद्यालयका ५, सरस्वती प्राविका ५ र बालन शिक्षण किन्डर गार्डनमा अध्ययनरत ५ जना गरि २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । विरेन्द्रनगर नगरपालिका वडा नं. १ र फ्रिडम फण्डको आर्थीक सहयोगमा आइडिया नेपालले शैक्षिक सामग्री वितरण गरेको हो ।
शैक्षिक सामग्री पाउँदा विद्यार्थी पनि दंग देखिन्थे । दलित, जेहेनदार तथा अति विपन्न परिवारका बालबालिकालाई पनि अन्य बालबालिका सरह शिक्षाको पहुँचमा पु¥याउन शैक्षिक सामग्री वितरण गरिएको आइडिया नेपालका अध्यक्ष रचना सुनारले बताउनुभयो । यसले विद्यार्थीलाई विद्यालय आउन आकर्षित गर्नुका साथै शैक्षिक गुणस्तरमा बृद्धि हुने उहाँको भनाई छ ।
शैक्षिक सामग्री वितरणसँगै ‘सुनिश्चित बाल अधिकार ः समृद्धिको आधार’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रावि तह स्तरिय पहिलो पटक आयोजित प्रतियोगितामा त्रिपुरेश्वर मावीका निराजन आचार्य प्रथम, दिपमाला प्राविका समिर परियार द्धितिय, दिपमाला प्राविका पुजा नेपाली तृतिय र त्रिपुरेश्वर मावीका निशा उपाध्याय सान्तोना भएका छन् । विद्यार्थीहरुको हौसला बढाउन प्रतियोगितामा सहभागी अन्य विद्यार्थीलाई समेत पुरस्कार प्रदान गरिएको बतार्ईएको छ । सोहि अबसरमा विरेन्द्रनगर नगरपालिका वडा नं. १ का वडा सदस्य बृद्धिसरा सुनारले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दा गैरसरकारी निकायहरुसँग सहकार्य गर्ने बताउनुभयो । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, टोल विकास समिति, सामुदायिक अध्ययन केन्द्रका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।











प्रतिक्रिया