काठमाडौँ ।
निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकार जंगबहादुरजस्तो बन्न खोजेको आरोप लगाउनुभएको छ ।
बिहीबार सिंहदरवारस्थित आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ढकालले सरकारले कर्मचारीका मागलाई सम्बोधन नगरेको भन्दै आपत्ति जनाउनुभयो । ‘सरकार वास्तवमा तानाशाही र जंगबहादुरजस्तै भएको छ, कर्मचारीलाई वेवास्ता गरेर सरकारको लक्ष्य पूरा हुन सक्दैन’ ढकालले भन्नुभयो ‘ कर्मचारी कहिल्यै पनि सरकारको विरुद्धमा हुँदैनन् तरपनि सरकारले हाम्रो मूल्यांकन गर्दैन ।’ उहाँले सरकारले आधिकारिक यूनियनलाई खेलौना बनाइएको आरोप पनि लगाउनुभयो । ढकालले वजेट निर्माणका क्रममा पटकपटक अर्थमन्त्री र अर्थ सचिवलाई भेट्न खोज्दा पनि समय नदिएकोमा पनि सरकार कर्मचारीप्रति अनुदार भएको भन्ने प्रष्ट भएको गुनासो गर्नुभयो ।
आधिकारिककै उपाध्यक्ष भोलानाथ पोखरेलले सरकारले कर्मचारी समायोजनका नाममा सामान्य कर्मचारीलाई दुःख दिएको बताउनुभयो । ‘कर्मचारी समायोजन सकिएको छैन, विभेद भएको छ समायोजनमा’ पोखरेलले भन्नुभयो ‘ सरकारको शैली विश्वासिलो हुन सकेन, कर्मचारीको मनोबल बढाउनुको साटो हतोत्साहित पार्नेमात्र काम भएको छ ।’ पोखरेलले आफूहरुबीच केही समस्या भए सरकारसँग बसेर छलफल गर्न र गलत गरेको भए सुध्रिन समेत तयार रहेको बताउनुभयो ।
युनियनको स्थापना दिवसको अवसरमा केही दिनअघि संघीय, मामिला तथा सामान्य प्रशसनमन्त्री लालबाबु पण्डितलाई आफ्ना गुनासा सुनाएको भन्दै संस्थाले कर्मचारीका सबै प्रकारका समस्या सुन्न सरकार तयार हुनुपर्ने बताएको छ । २०७२ साल जेष्ठ १९ गते भएको निर्वाचनबाट आधिकारिक ट्रेृड युनियन गठन भएको थियो । युनियनको कार्यकाल ४ वर्षको रहेको छ । युनियनले ४० बूँदे माग राखेको छ ।











प्रतिक्रिया