नरेन्द्र केसी, दाङ ।
देशभरि शहरबजारमा वातावरण दिवसको अवसरमा विविध कार्यक्रम चलिरहेका थिए तर अधिकांश गाउँहरुमा यो दिवसको कुनै जानकारी थिएन । दाङको घोराही उपमानगरपालिका १ र २ मा पर्ने रामपुर बुका गाउँमा भने बिहानैदेखी महिलाहरु भेला भइसकेका थिए । गाउँ भएर पनि महिलाहरु शहरबजारका जस्तै सचेत र जागरुक देखिन्थे कारण यो गाउँका महिलाहरु वातावरण संरक्षण र आयआर्जनमा जुटेको धेरै भइसकेको छ । त्यसैले हरेकजसो यस्ता दिवस उनीहरु मिलेर बनाउने गरेका छन् ।
झण्डै आधा दशकदेखि पाँच समूह बनाएर नियमित वातावरण संरक्षण र आयआर्जनमा जोडिदै आएका यहाँका महिलाहरु संरक्षणको क्षेत्रमा अन्यत्रमा भन्दा सचेत देखिन्छन् । उनीहरुले हरेकजसो वातावरणसँग जोडिएका दिवसमा सामूहिकरुपमा जुटेर मनाउने गरेका छन् । विभिन्न चराका नामबाट समूहको नाम राखेर सामूहिक बचत र पर्यावरण संरक्षणको क्षेत्रमा उनीहरुले काम गर्दै आएका छन् । प्रत्येक समूहले तीन लाख जति रकम बचत गरेर ऋण लगानी गर्ने र ब्याजबाट आयआर्जन पनि गर्दै आएका छन् । यो कामका लागि पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रले सहजीकरण गरिरहेको छ ।
घोराही उपमहानगरपालिका १ रामपुरकी राधा पाण्डेले आफूहरुले वातावरण संरक्षण र आयआर्जनको काम सँगसँगै गर्दै आएको बताउनुभयो । ‘वन संरक्षण, ताल संरक्षण, सरसफाइ, गिद्ध संरक्षणजस्ता बिषयमा पहिले जानकारी नै थिएन’– उहाँले भन्नुभयो– ‘हामीले विभिन्न समूह बनाएर काम गर्न थालेपछि हरेक दिदीबहिनीले वातवारण संरक्षणलाई आफ्नो सन्तान जत्तिकै मायाँ गर्न थाल्नुभएको छ ।
रामपुर बुकाकै देवका पाण्डेले पनि वातावरण संरक्षण र आयआर्जनको काम सँगसँगै गर्दा प्रभावकारी भएको बताउनुभयो । पहिले पैसा जति पुरुषलाई माग्नुपर्दा हेयको भावना हुने गरेको सम्झदै उहाँले अब केही रकम चाहिएमा महिलाहरुले आफ्नो समूहबाट लिएर चलाउने गरेको बताउनुभयो । ‘हाम्रा पाँच वटा समूह छन्, हरेक समूहमा तीन लाख जति रकम पुगेको छ, चाहिएको बेला एक प्रतिशत ब्याजदरमा चलाउँछौं’– उहाँले भन्नुभयो– ‘यसले महिलालाई आत्मनिर्भर र सशक्तिकरण गर्ने काम गरेको छ ।’
रामपुर बुकाकै विना नेपालीले आफूहरुको अभियानपछि समुदाय वातवारणप्रति सचेत बनेको बताउनुभयो । महिलाको कामले पुरुष पनि प्रभावित छन् । स्थानीय शिक्षक बुद्धि धितालले महिलाहरुको अगुवाइले समुदायलाई वातावरणप्रति सचेत बनाउँदै लगेको बताउनुभयो । महिलाहरुलाई समूहमा राखेर अभियान चलाइरहेको संस्था पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले ६ बर्षअघिदेखि नै आफ्नो संस्थाले समूह बनाएर वातावरण संरक्षण र आयआर्जनमा महिलाहरुलाई जोड्दै लगेको बताउनुभयो ।
शुरुमा संस्थाले प्रत्येक समूहलाई २० हजार बीउ पूजी दिएर बचत शुरु गरिएकोमा अहिले हरेक समूहले आफ्नै तीन लाख पु¥याएको उहाँले बताउनुभयो । अहिले यही संस्थाको सहजीकरण र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडिपिको जिइएफ÷एसजिपीको सहयोगमा यो गाउँमा अर्गानिक खेतीको शुरुवात गरिदैछ ।











प्रतिक्रिया