“मैले शिर झुकाउनुपर्ने एउटा पनि गल्ती गरेको छैन”

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
रािष्ट्रय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले शिर झुकाउने गरि आफुले कुनै गल्ती नगरेको बताउनुभएको छ ।
पर्वतको फलेबास नगरपालिकाले शुरु गरेको ‘क्लिन फलेबास , ग्रिन फलेबास अभियानको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जिल्लाबासीले गौरब गर्ने गरि काम गर्ने तर शीर झुक्ने गरि एउटा पनि गल्ती नगर्ने बताउनुभएको हो ।

पछिल्ला समयमा राष्ट्रिय सभा र अध्यक्ष तिमिल्सिनालाई जोडर आएका समाचारहरुको उहाँले कडा शब्दमा खण्डन गर्नुभयो । ‘मैले जिल्लाबासीले शिर झुकाउने गरि एउटा पनि गल्ती गर्दिन,’ उहाँले भन्नुभयो ‘गलत नियत राखेर भएका हल्लाका पछि नलाग्नुहोला ।’ मिडियाले गलत नियत र उद्देश्य राखेर तथ्यलाई फरक ढंगले प्रस्तुत गरेको तथा ब्यक्तिगत रुपमा चरित्र हत्या गर्ने काममा लागेको उहाँको आरोप छ । उहाँले हल्ला फैलाउने काम गरेपनि आफुँ एक रति पनि कुनै कुरामा नचुकेको दाबी गर्नुभयो ।

पर्वतबासीको माया र स्नेहले राज्यको महत्वपुर्ण जिम्बेबारी पाएको बताउँदै अध्यक्ष तिमिल्सिनाले आफ्नो जीवनभर यसलाई बचाउने र सम्बृद्ध पर्वत बनाउने कुरामा लागि रहने प्रतिबद्धता पनि जनाउनुभयो । ‘मेरो राष्ट्रिय कार्यभारहरु पनि छन ,’उहाँले भन्नुभयो ‘ राष्ट्रिय कार्यभार संगै जिल्लाबासीको कार्यभारलाई पनि उत्तिकै महत्व दिएको छ’ ।

उहाँले आफ्नो ६ बर्षे कार्यकाल भित्र सबै तहका सरकार संगको सहकार्य र समन्वयमा पर्वत जिल्लाका ६२ वटै वडा सम्म पक्की सडक पुयाउने प्रतिबद्धता पनि जनाउनुभयो । कालीगण्डकी लोकमार्ग पनि यो अबधीमा कालोपत्रे भएर छाड्ने भनाई उहाँको थियो । उहाँ पर्वतका लागि आवश्यक सडक, खानेपानी, सिंचाईका सबै पुर्वाधारहरु यस बिचमा निर्माण भैसक्ने दोहो¥उँदै पुर्वाधार संगै आम्दानी हुने र रोजगारी सृजना गर्ने उद्यमहरु सञ्चालन हुन नसके त्यसको प्रतिफल जनताले लिन नसक्ने चर्चा गर्नुभयो । सडक बनेसंगै कृषि उत्पादन बढाएर निकासी गर्ने योजनाहरु बनाउन उहाँले आग्रह गर्नुभयो ।

‘क्लिन फलेबास, ग्रिन फलेबास’’ अभियान थालेर फलेबासले नमुना कार्य शुरु गरेको बताउँदै अध्यक्ष तिमिल्सिनाले वातावरण सफा राखे संगै मन, मष्तिष्क पनि सफा राख्न आग्रह गर्नुभयो । उहाँले उत्पादनमुलक वन, वातावरण र समाज निर्माण गर्ने कुरा ब्यबहारमा कार्यान्वयन हुन सके सबै फलेबासीहरु सम्पन्न हुन सक्छन भन्दै त्यसका लागि लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले स्थानिय तहरुले रचनात्मक र सृजनात्मक ढंगले बिकास कार्यक्रम अघि बढाउँन जरुरी भएको कुरामा जोड दिनुभयो । फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले अब फलेबासमा हरित बिकास शुरु भएको बताउँदै सरसफाई र स्वच्छतालाई आम्दानी र दिगोपन संग जोड्ने काम गर्न थालिएको प्रकाश पार्नुभयो ।