सत्य जाँच गरेर समाचार लेख्न आग्रह

0
Shares

काठमाडौं, (नेस)
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सत्य जाँच गरेर मात्र समाचार लेख्न आग्रह गर्नुभएको छ। उहाँले अरूसँग सोधेर वा अरूले यसो हो भनेर भनेका भरमा लेखिएका समाचार एकपक्षीय हुने भएकोले सम्बन्धित पक्षसँग सोधेर मात्र समाचार प्रकाशित गर्न अनुरोध गर्नुभएको हो।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आयोजना गरेको स्वरोजगारमूलक सञ्चारमाध्यमको व्यवस्थापन एवम् महिला बालबालिका विषयक एक दिने समाचार लेखन पत्रकारिता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मेयर शाक्यले महानगर पत्रकारहरूसँग निःस्वार्थ सहकार्य गर्न तयार रहेको समेत बताउनुभएको छ। ‘समाचारको स्रोत नै पूर्वाग्रहपूर्ण छ भने समाचार वस्तुनिष्ठ बन्न सक्दैन, यसप्रति पत्रकार सचेत रहनुपर्छ’, मेयर शाक्यले पत्रकारहरूलाई सुझाव दिँदै भन्नुभयो– ‘व्यक्तिको हो, सोधेर होइन, प्रणाली के हो? खोजेर समाचार लेख्नुभयो भने बल्ल समाचार विश्वशनीय बन्छ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव प्रकाश थापाले सञ्चार क्षेत्रको अस्तित्व कायम गराउन चुनौतीपूर्ण अवस्थाको सामना गरिरहनुपर्ने अवस्थाले कहिलेकाहीं समाचार संकलनको काम छोडेर अधिकारका कुरा गर्न सडकमा आउनुपरेको बताउनुभयो। कार्यक्रममा केन्द्रीय सदस्य जानुका बराल, प्रदेश समितिका अध्यक्ष एनके दाहाल, महासचिव सृजन झा, भक्तपुर महासंघका अध्यक्ष पुष्कर बुढाथोकी, काठमाडौं महासंघका सचिव मोहनराज पन्तले पत्रकारले सही सत्य समाचार लेखनमा जोड दिनुभएको थियो।

कार्यक्रममा बद्री तिवारी र भवानी बरालले प्रशिक्षण दिनुभएको थियो। प्रदेश समितिले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो।