इन्सेकद्धारा रुकुमका द्धन्द्ध पीडितलाई सहयोग



धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्वका एक द्धन्द्धपिडितलाई इन्सेकले सहयोग गरेको छ । जिल्लाको सिस्ने गाउँपालिका –५ रुकुमकोटका द्वन्द्वपीडित धरमबहादुर शाहलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सहयोग गरेको छ । सशस्त्र द्वन्द्वको समयमा सेनाको गिरफ्तारीमा परी १५ महिना हिरासत र जेल बस्नुभएका ६३ वर्षीय शाहलाई कानुनी प्रक्रियाका लागि आर्थिक सहयोग गरिएको हो ।

शान्ति प्रक्रियामा आएको लामो समयसम्म पनि शाहले कतैबाट राहत तथा क्षतिपूर्ति नपाएपछि त्यसको प्रक्रिया अगाडि बढाउन पहल गर्दै इन्सेकले आवश्यक कानुनी खर्चवापत १५ हजार रुपैयाँ उपलब्ध गराएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले उक्त रकम द्वन्द्वपीडित शाहलाई हस्तान्तरण गर्नुभएको हो । आफ्नो राहत तथा क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाउन इन्सेकले गरेको सहयोग गरेकोमा पीडित शाहले खुसी व्यक्त गर्नुभयो ।

‘पहिले धेरै ठाउँमा पहल गरेपनि कतैबाट कुनै सहयोग पाइएन ।’ उहाँले भन्नुभयो, ‘ढिलै भएपनि अहिले इन्सेकबाट सहयोग पाउँदा आशा पलाएको छ ।’ आफू जेलमा हुँदा श्रीमतिले समेत छोडेको हुँदा अहिलेसम्म एक्लै जीवन बिताइरहेको उहाँले बताउनुभयो । राहत नपाउँदा भारत जाने र उतै बस्ने सोच बनाएकोमा अब केही आशा पलाएको शाहको भनाइ छ ।

सरकारको तर्फबाट राहत पाउन छुटेका शाहको लागि के गर्न सकिन्छ भन्ने विषयमा आफूले माथिल्लो निकायमा बुझ्ने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । आफ्नो तर्फबाट गर्न सकिने सबै सहयोग गर्न आफू तयार रहेको उहाँको भनाइ छ । शाहले राहत नपाएको जानकारीमा आएपछि इन्सेकले त्यसका लागि पहल गरेको इन्सेक रुकुम जिल्ला प्रतिनिधि मनिषा केसीले जानकारी दिनुभयो । आफूहरुले गरेको सहयोगबाट उहाँको राहत तथा क्षतिपूर्तिका लागि कानुनी प्रक्रियामा टेवा पुग्ने अपेक्षा गरिएको केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्